भैरहवाका दुई वटा पीसीआर मेसिन बेकामे

बुटवल– प्रदेश ५ को भैरहवास्थित प्रादेशिक प्रयोगशालामा रहेका २ वटा कोभिड १९ परीक्षण गर्ने मेसिन सहायक उपकरणको अभावमा बेकामे भएका छन्।

कोरोना जाँचलाई अझै तीब्र बनाउँदै धेरैको जाँच गर्नका लागि निजी क्षेत्रले चैत २८ र २९ गते पीसीआर जाँच गर्ने मिल्ने मेसिन प्रदेश सरकारलाई हस्तान्तरण गरेका थिए।

तर, कोरोना जाँच गर्न मिल्ने ती मेसिन सहायक उपकरण नहुँदा प्रयोगमा आउन सकेका छैनन्। दैनिक २ सय जनाको थ्रोट स्वाब (र्‍याल र खकार) जाँच गर्ने गर्ने लक्ष्यका साथ प्रयोगशालामा पुर्‍याइएका दुुई मेसिनलाई आवश्यक पर्ने सहायक उपकरणहरु नहुँदा थन्किएका छन्।

प्रदेश जनस्वास्थ प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले प्राप्त भएका मेसिनका लागि आवश्यक सामग्री आउन ढिलाई हुँदा प्रयोगमा ल्याउन नसकिएको जानकारी दिए।

‘हामीलाई हस्तान्तरण गरिएका दुई मेसिनले अहिलेसम्म कोभिड १९ को जाँच गरेका थिएनन्, एउटा हेपाटाइटिसको परीक्षण गरेको मेसिन हो भने अर्को कृषिको बीउबिजन परीक्षण गरिरहेको मेसिन हो’, डा. गिरीले भने, ‘यी मेसिनले कोभिड १९ परीक्षण गर्न सक्छन् कि सक्दैनन्, सफ्टवेयरहरुले सर्पोट गर्छन् कि गर्दैनन् भनेर परीक्षण गर्नका लागि विज्ञ पनि छैनन्, यसैले मेसिनलाई ‘रन’ गर्न सकिएको छैन।’

प्रयोगशालामा तीन वटा मेसिन भए पनि प्रयोगशालाका लागि संघ सरकारले उपलब्ध गराएको मेसिनबाट मात्रै परीक्षण भइरहेको छ। अरु दुई वटा मेसिनको उपयोगिताबारे जाँच्न प्रयोगशालाले मेसिन ल्याएको एकहप्ता पछि मात्रै विज्ञ बोलाएको छ।

‘मेसिन जडानका लागि सहायक सामग्री संकलन गर्नेदेखि लिएर प्राविधिक कर्मचारी व्यवस्थापनको काम भैरहेको छ’, उनी भन्छन्, ‘एकदुई दिनमा यी मेसिनले कोभिड १९ परीक्षण गर्छन् या गर्दैनन्, सफ्टवेयरले सर्पोट गर्छ कि गर्दैन भनेर परीक्षण गर्न तथा परीक्षण सफल भएमा मेसिन सञ्चालनमा सहयोग गर्नका लागि काठमाडौंबाट विज्ञलाई बोलाएका छौँ।’

प्रादेशिक प्रयोगशालालाई कृषि मन्त्रालयले नार्कको मेसिन र बुटवलको नेशनल प्याथ ल्याबले हेपाटाइटिस परीक्षण गरिरहेको मेसिन दिएका थिए।

भैरहवामा रहेका आरटी पिसिआर मेसिन आत्याधुनिक मेसिनले एक पटकमा ९६ वटा परीक्षण गर्न सक्ने ल्याब टेक्निसियनहरु बताउँछन्। सो उपकरणमा ९६ वटा थ्रोट स्वाब परीक्षण गर्न पाँच घण्टासम्म लाग्ने गर्छ।

तर, पीसीआर जाँचमा बढाउनु पर्ने प्रयोगशालामा त्योभन्दा कम विश्वसनीय आरडिटीबाट जाँच गरी क्वारेन्टाइनमा रहेकालाई धमाधम घर पठाइएको छ।

पीसीआर जाँच ढिलाई र सुस्त छ भने, धमाधम आडिटीबाट जाँच गरेर क्वारेन्टाइनमा रहेकालाई घर पठाउँदा जोखिम बढेको छ।

जाँच गरेका सबैको रिपोर्ट नेगेटिभ
भैरहवामा आइतबारसम्म पिसिआरबाट १ सय २७ जनाको जाँच गरिएको छ। ती सबैको रिर्पोट नेगेटिभ आएको छ

‘अहिलेसम्मको अवस्थामा प्रदेश ५ सुरक्षित छ’, डा. गिरी भन्छन्, ‘अहिलेसम्म परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ, तर ढुक्क भइहाल्ने अवस्था छैन, यदि कतै देखियो भने बम विष्फोट भए जसरी आउनसक्छ, त्यसैले सतर्कता अपनाउनु जरुरी छ।’

त्यस्तै प्रदेशका १२ वटै जिल्लामा आरडिटीबाट दुई हजार जनाको जाँच गरिएको छ। प्रदेश ५ का सबै जिल्लामा गरी २ हजार ५ सय ९ जना क्वारेन्टाइनमा बसेका थिए। उनीहरुलाई आरडिटीबाट जाँच गरी एक हप्ता घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने गरी पठाइएको छ।

भैरहवामा रहेका बाँकी २ वटा उपकरणलाई चालु गरेर परीक्षणलाई तीब्र बनाउन गुल्मी र पश्चिम नवलपरासीबाट प्राविधिक ल्याइएको छ।

प्रदेश ५ मा परीक्षणलाई तीब्रता दिन मुख्यमन्त्री शंकर पोखरेलले निर्देशन दिएपनि सबै उपकरण नभएका कारणले दाङ र नेपालगञ्जमा प्रयोगशाला सञ्चालन हुन सकेका छैनन्।

‘केही साना सहायक उपकरण नभएपनि काम रोकिने अवस्था आउँछ, यसैले भने जसरी काम हुन सक्दैन’, डा. गिरीले भने, ‘एकदुई दिनमा ती उपकरण आउने कुरा भएको छ, त्यसपछि दाङ र नेपालगञ्जबाट पनि परीक्षण शुरु भएमा भैरहवामा रहेको ल्याबले अरु तीब्रता दिएर यही क्षेत्रमा परीक्षण बढाउने छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च