वैशाख ७,काठमाडौं ।
औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमिकहरुलाई लकडाउन अवधिको पारिश्रमिक दिन निजी क्षेत्र र श्रमिकहरुको छाता संगठन र सरकारबीच सहमति भएको छ ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आयोजनामा आईतबार मन्त्रालयमा भएको छलफलमा यस्तो समझदारी बनेको मन्त्रालयकी साहयक प्रवक्रा एवम् उपसचिव उर्मिला केसीले जानकारी दिईन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका प्रतिनिधिहरु वैठकमा सहभागी भएको मन्त्रालले जनाएको छ । यस्तै बैठकले कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर फर्केका युवालाई उत्पादनशील र उद्यमशिलतामा सहभागी गराउनेबारे अध्ययन गर्न कार्यदल पनि गठन गरेको छ ।
मन्त्रालयको औद्योगिक लगानी तथा प्रर्वद्धन महाशाखा प्रमुख सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा कृषि तथा पशुपंक्षी, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि र उद्योगका छाता संगठनका प्रतिनिधि सहितको कार्यदल गठन गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।
कार्यदललाई १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न समय दिएको मन्त्रालयले जनाएको छ । वैठकले लकडाउनका कारण बन्द भएका उद्योगहरु सञ्चालनका लागि सम्पूर्ण उद्योगहरुलाई ३ चरणमा वर्गीकरण गरी उद्योग सञ्चालन गर्न उच्च स्तरीय समितिमा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।