राहातमा बाँडेको चामल न्यून गुणस्तरीय भएको प्रमाणित

नवलपरासी ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले यसअघि राहातमा बाँडेको चामल न्यून गुणस्तरीय भएको प्रमाणित भएको छ । वितरण गरिएको राहत चामल परीक्षण गर्दा गुणस्तर तथा नापतौल कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रूपन्देहीले न्यून गुणस्तरीय भएको प्रमाणित गरेको हो ।

कार्यालयबाट खटिएका खाद्य निरीक्षक श्रवणकुमार ढुंगानाले चामलको नमुना संकलन गरी ल्याबमा चेकजाँचका लागि लिएर गएका थिए । चामलको ल्याब टेस्ट गर्दा त्यसको नतिजा नेपाल सरकारको मापदण्डभन्दा बाहिरको आएकाले न्यून गुणस्तर भएको पुष्टि भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय स्रोतले जानकारी दिएको छ ।
चामलको तौलबारे भने गुणस्तर तथा नापतौल कार्यालय रूपन्देहीको टोलीले चेकजाँच गर्दा कम तौल भएको पुष्टि भइसकेको गुणस्तर तथा नापतौल कार्यालयका सहायक निरीक्षक नुरुल एन भाटले बताए ।

वितरण गरिएको राहत चामल परीक्षण गर्दा गुणस्तर तथा नापतौल कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रूपन्देहीले न्यून गुणस्तरीय भएको प्रमाणित गरेको हो ।

एकातर्फ तौलमा ठगी र अर्कोतर्फ गुणस्तर न्यून भएपछि छुट्टाटुट्टै मुद्दा चल्ने र सोहीअनुसार कारबाही हुने जनाइएको छ । नगरपालिकाले वितरण गरेको चामल गुणस्तरको नभएको भन्दै नगरपालिकाको वडा नम्बर ११ मा वितरण भएको राहत स्थानीयले चैत २८ गते नगरपालिकाको गेटमै फालिदिएका थिए भने ६ नम्बर वडामा अध्यक्षको घरमा लगेर फर्काइदिएका थिए । वडा नम्बर ३ बाट पनि वितरण भएको राहत फिर्ता भएको थियो ।

केही वडामा राहत वितरणको क्रममा विरोध आएपछि रोकिएको थियो भने केही वडामा वितरण गर्न बाँकी रहेको थियो । नगरपालिकाले वितरण गरेको चामलको गुणस्तरको विषयलाई लिएर चर्को विरोध आएपछि नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले राहत वितरण कार्यलाई स्थगित गर्दै कमी–कमजोरी भएकोमा नगरपालिकाले नैतिक जिम्मेवारी लिँदै वितरण गरिएको राहत फिर्ता गर्न आग्रह गरेका थिए ।

वितरण गरिएको राहतमा कुहिएको चालम, स्वायबिनसमेत भेटिएपछि चामलको तौल र गुणस्तर परीक्षणका लागि नगरपालिकाले गुणस्तर तथा नापतौल कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रूपन्देहीलाई आग्रह गरेको थियो । नगरपालिकाको आग्रहपछि उक्त चामलको तौल र गुणस्तर परीक्षण गरिएको थियो । यता नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले भने पत्रकार सम्मेलन गरी नियोजित रूपमा नगरपालिकालाई बदनाम गरिएको बताएका छन् ।

राहत सामग्रीको गुणस्तरकै विषयमा नगरप्रमुख र उपप्रमुखबीचमा पनि टकराव देखिएको छ । राहतमा वितरण भएको चामल गुणस्तरीय नभएको भन्दै व्यापक आलोचना भएपछि नगरप्रमुख गुप्ता र उपप्रमुख रम्भा कुँवरको छुट्टाछुट्टै विज्ञप्ति आएको थियो । उपप्रमुख कुँवरले आफूलाई पहिले नै गुणस्तरहीन खाद्य सामग्री वितरण गर्न थालेको थाहा भएको दाबी गर्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च