बाग्लुङ – पोखराबाट बाग्लुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरी महिलालाई बाग्लुङमा उद्धार गरेर क्वरेण्टीनमा राखिएको छ ।
रोल्पाको सुनछहारी गाउँपालिका ५ स्थायी घर भइ पोखरामा मजदूरी गर्दै आउनुभएकी उहाँ आइतबार दुई महिनाको छोरा बोकी पैदल हिँडेर बाग्लुङ आइपुग्नुभएको हो ।
उहाँसँगै आएका सोही गाउँका अन्य ६ जनासहित उहाँलाई पनि पर्वत र बाग्लुङको सिमाना माल्ढुंगाबाट प्रहरीले उद्धार गरेर बाग्लुङ नगरपालिका–१ मा रहेको रामरेखा आधारभूत विद्यालयको क्वरेण्टीनमा राखेको छ । उहाँसँगै उहाँका श्रीमान् पनि सँगै हुनुहुन्छ र उहाँहरुको द्रूत परीक्षण गरेर गाडीमर्फत रोल्पा पठाउने तयारी भइहेको छ ।
क्वरेण्टीनमा राखिएका सबैलाई आइतबार साँझ र सोमबार दिउँसोसम्मको खानाको व्यवस्था बाग्लुङ नगरपालिकाले गरेको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।
पोखरामा घरबेटीले घरभाडा माग्न थालेको र दैनिक खर्च चलाउने उपाय नभएकाले हिँडेरै घर जान थालेको उहाँले बताउनुभयो । क्वरेण्टीनमा बस्दा कुनै समस्या नभएको उहाँको भनाइ छ ।