नवलपुर । मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ परासीको जामिया मस्जिदमा अनुगमन गरेको छ ।
विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल मुस्लिम आयोगद्वारा गठित उक्त समितिले सो जामिया मस्जिद र मदरसालाई अनुगमन गरेको हो । समितिका संयोजक भेषबहादुर खराल (ईस्हाक) को संयोजकत्वमा जिल्ला प्रसाशन कार्यालयको रोहबरमा उक्त मस्जिद र मदरसाको अनुगमन भएको मस्जिदका ईमाम मौलाना सैयद गुलाम हुसैन मिँयाले जानकारी दिए ।
देशका विभिन्न मस्जिद र मदरसाहरुमा तब्लिगी जमातका धर्मावलम्बीहरु लुकेर बसेको र उनीहरुमध्ये केही संंक्रमित भए उनीहरुबाट समाज र समुदायमा संक्रमण फैलिन सक्ने भएको हुँदा आयोगले देशभरिकै मस्जिद मदरसाहरु अनुगमन गर्न जिल्ला स्तरिय समितिहरु बनाई मस्जिद र मदरसाहरु अनुगमन गराईरहेकोे छ ।
अनुगमन समितिका संयोजक खरालको संयोजकत्वमा पुगेको टोलीमा जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, नेकपा जिल्ला संयोजक भविष्वर तिवारी, अनुगमन समिति सदस्य हैदर अलि मोमिन, करम हुसैन अंसारी, ईजहार मिँया, वडा २ का वडा सदस्य सुनिता श्रेष्ठ र जनता समाजवादी पार्टी उपाध्यक्ष अमिरुल्लाह मिँया लगायतले अनुगमन गरेका हुन ।
प्रमुख जिल्ला अधिकारी दाहालले अनुगमनको क्रममा यस मस्जिदमा कुनै पनि बाहिरी व्यक्ति लुकेर बसेको नभेटिएको बताए । उनले अनुगनको क्रममा मस्जिदमा कोही बाहिरी व्यक्ति आए तुरुन्त जिल्ला प्रशासन कार्यालयलाई बुझाउन मस्जिदका ईमाम मिँयालाई आग्रह गरे ।