तुलसीपुर ।
लकडाउनका कारण १ महिनादेखि अवरुद्ध रहेको खोप कार्यक्रम तुलसीपुरमा सुरु भएको छ। बालबालिकाहरुलाई विभिन्न रोगबाट जोगिनका लागि खोपहरु लगाउन सुरु गरिएको जनस्वास्थ्य शाखाका निरीक्षक बिमल केसीले जानकारी दिए।
उनले उच्च सतर्कता अपनाएर खोप कार्यक्रम सुरु गरिएको बताए। स्वास्थ्यकर्मीलाई पञ्जा, मास्क र स्यानिटाइजर प्रयोग गरेर खोप लगाउन काममा खटाईएको पनि उनले वताए।
उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बालबालिकाको स्वास्थ्यलाई सुरक्षित राख्न सुरक्षित रहेर खोप कार्यक्रम संचालन गरिएको बताए।
जन्मिने वित्तिकै लगाउनुपर्ने बिसिजीदेखि विभिन्न आठ प्रकारका खोपलाई तुलसीपुरले निरन्तरता दिएको छ।
प्रादेशिक अस्पताल, वडामा रहेका स्वास्थ्य केन्द्र लगायत विगतमा खोप दिइदै आएका ५० वटै केन्द्रमा १० गतेदेखि सुरु भएको खोप आउँदो १५ गतेसम्म सञ्चालन हुने निरिक्षक केसीले जानकारी दिए।
उपमहानगरपालिकाले बिसिजी, पेन्टा, ओपिभी, एफआइपिभी, पिभिसी, एमआर तथा जेई र टिटी नामका खोप लगाउन सुरु गरिएको छ। यी खोपहरु जन्मिएदेखि २३ महिनासम्मका बच्चालाई लगाउनुपर्ने हुन्छ।
उपमहानगरपालिकाभित्र यस्तो खोप लगाउने वालवालिकाको संख्या ३ हजार ६ सय १० रहेको पनि केसीले जानकारी दिए। अहिलेसम्म २ हजार १ सय ६६ जनाले यस्तो खोप लगाइसकेका छन्।