बैशाख २०,काठमाडौं ।
सरकारले केन्द्रीय, प्रदेश र स्थानीय गरी तीनवटै तहका कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी पदपूर्ति गर्ने सम्पूर्ण प्रक्रिया बन्द गरेको छ । अत्यावश्यकबाहेक कुनै पनि सरकारी कार्यालयले ‘ओ एन्ड एम सर्भे’ समेत गर्न नपाउने व्यवस्था गरिएको छ ।
लोकसेवा आयोगले कोरोना भाइरस संक्रमणका कारण सबै पदपूर्ति प्रक्रिया स्थगित गर्दै आएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगलाई पदपूर्तिसम्बन्धी सबै कार्य स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको थियो । यसपछि आयोगले पदपूर्तिका सबै प्रक्रिया रोकेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले स्थानीय तह र संघीय सरकारबाट लोकसेवामा पदपूर्तिका लागि कर्मचारीको माग गरेर पठाइएको भए पनि अब ती सबै कार्य बन्द भएको बताए । लोकसेवा आयोगले यसअघि विज्ञापन गरिएका पदमा पनि पदपूर्ति नहुने देखिएको छ । प्रवक्ता अधिकारीका अनुसार लकडाउनका बेला भएका कर्मचारीलाई त परिचालन गर्न नसकिरहेको अवस्थामा नयाँ भर्ना रोकिनु सामान्य भएको बताए ।
त्यस्तै, सरकारी कार्यालयले कर्मचारीको दरबन्दी थप्ने र घटाउन गर्नुपर्ने ‘ओ एन्ड एम सर्भे’सम्बन्धी काम पनि अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए । कोभिड–१९ का कारण नेपालको आर्थिक वृद्धिदर कम भएकाले कर्मचारी भर्नाका सबै प्रक्रिया रोक्नुपरेको सरकारले जनाएको छ । कर्मचारी भर्ना रोक्दा चालू खर्चसमेत कटौती हुनेछ ।
माग फारामका विज्ञापनअनुसार सञ्चालन गर्न बाँकी रहेका परीक्षा र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने कार्य हाललाई स्थगित गर्ने निर्णय बैठकले गरेको छ । यसअघि आयोगबाट भएको विज्ञापनअनुसार हुने परीक्षा अब अनिश्चित बनेको छ ।
लोकसेवा तयारी गर्नेहरू अलमलमा
सरकारले नयाँ भर्ना प्रक्रिया बन्द गरेसँग लोकसेवाको तयारी गर्ने व्यक्तिहरू अलमलमा परेका छन् । लोकसेवा आयोगले केही समयअघि खरिदार, सुब्बा र अधिकृतको भर्ना खुलाएको थियो । परीक्षा स्थगित भएसँग तयारी गर्नेहरू पनि निराश भएका छन् ।
काठमाडौंको सिनामंगलमा नायव सुब्बाको तयारी गरिरहेका धरानका निलम कार्कीले लोकसेवा अनिश्चित भएसँगै तयारी गरेको विषय पनि बिर्सने र कहिले परीक्षा होला भन्ने द्विविधा भएको बताए । उनले यस्तो अवस्थामा सरकारले परीक्षाका लागि फाराम बुझाएकाको परीक्षा लिइदिए उचित हुने बताए ।