भैरहवामा किट अभावले कोरोना परीक्षण रोकियो

वैशाख २१, बुटवल ।
रुपन्देहीको भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएको छ ।

‘आरएनए एक्स्ट्रयाक्सन’ किट सकिएपछि आइतबारदेखि पीसीआर टेष्ट रोकिएको हो । शनिबार मात्रै रुपन्देहीको कोटहीमाई–१ का कोरोना संक्रमित युवाको दाइ र साथीको परिवारका १० जनाको परीक्षणसँगै किट सकिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

चैत २३ गतेदेखि सञ्चालनमा आएको प्रयोगशालामा हालसम्म ३३४ जनाको कोरोना परीक्षण भएको छ । डा. गिरीकाअनुसार तत्कालका लागि पाँच सय किट माग गरिएको छ ।

प्रदेश ५ मा भारतसहित विभिन्न मुलुकबाट दुई लाख भन्दाबढी नेपाली स्वदेश फर्किएका छन् । उनीहरु मध्ये साढे दुई प्रतिशतको मात्रै कोरोना परीक्षण गरिएको छ । हालसम्म प्रदेशमा पीसीआर र आरडीटी गरी ५ हजार जनामा परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए ।

प्रादेशिक प्रयोगशाला भैरहवा, भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरी गरी प्रदेश ५ का तीनवटा प्रयोगशालामा दैनिक सरदर २० जनाको पीसीआर परीक्षण हुने गरेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीले बताए ।

तीन वटै प्रयोगशालामा आरडीटी किट पनि पर्याप्त छैन । ६५ हजार आरडीटी किट आवश्यक रहे पनि हालसम्म सात हजार मात्र आएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च