बैशाख २५,बुटवल ।
२५६४ औँ बुद्ध जयन्ती बिहीबार भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । तर यसवर्षको बुद्धपूर्णिमाका औपचारिक कार्यक्रमहरु हुने छैनन् । कोरोना भाइरसको महामारीका कारण सरकारले बुद्धपूर्णिमा घरमै बसेर मनाउन आह्वान गरेको छ ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात आजभन्दा २५६४ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।
यही दिनको सम्झना र खुशीयालीमा बुद्ध जन्मस्थल लुम्बिनीमा बिहीबार १०–१५ जना भिक्षुहरुले बुद्धपाठ गरेका छन् । सरकारी अधिकारीहरुको सल्लाह र सुझावका आधारमा सीमित संख्यामा भिक्षुहरु उपस्थित गराएर प्रार्थना गर्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीसँगको सल्लाहमा लुम्बिनी विकास कोषले मात्रै सीमित भिक्षुणीहरुको उपस्थितिमा बुधबार बेलुका प्रार्थना, बिहीबार बिहान प्रार्थना र बेलुका २५६४ वटा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ’ उनले भने । कार्यक्रम सामान्य र संक्षिप्त भएकाले कसैलाई पनि औपचारिक निम्तो गरिएको थिएन ।
हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।
बद्ध जयन्तीका अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश प्रमुख धर्मनाथ यादवले पनि शुभकामना सन्देश जारी गरी २५६४ औ बुद्ध जयन्तीले शान्ती र अहिंसाका साथै मानव समुदायकै साझा समस्याको रुपमा रहेको महामारी बाट मुक्तीको लागी सवै एकता बद्ध भएर लाग्न प्रेरित गरोस भन्ने शुभकामना दिनु भएको छ । शुभकामना सन्देशमा यसपटकको बुद्ध पूर्णिमालाई कोरोना भाइरसविरुद्धको प्रयासका लागि समर्पित गर्न आग्रह गरेका छन् ।