बैशाख ३०, भैरहवा ।
नदीजन्य पदार्थ सहज उपलब्ध हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । नदीजन्य सामग्रीको अभावले उपकरण जडानको मात्र काम हुँदै आएकोमा अहिले निर्माणको बाँकी काम पनि अगाडि बढेको विमानस्थल विस्तार आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ उपलब्ध गराएपछि निर्माण अघि बढेको उनले बताए । उपमहानगरपालिकाले आयोजनाका लागि तिनाउ नदीबाट नदीजन्य सामग्री बालुवा र गिट्टी उपलब्ध गराएपछि विमानस्थल निर्माणको बाँकी काम अगाडि बढेको हो ।
राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको हो । गोरखापत्र दैनिकमा समाचार छ।