जेठ २,काठमाडौं ।
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ‘लकडाउन’को स्वरुप परिवर्तन गर्ने भएको छ ।
समितिको शुक्रबार बसेको बैठकले जेठ ५ गतेपछि लकडाउनको स्वरुप परिवर्तन गरेर जाने तयारी गरेको हो ।
विभिन्न क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको हो ।
गत चैत ११ गतेदेखि जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च, मध्यम र न्यून जोखिम क्षेत्र छुट्याएर स्वरुप परिवर्तन गरिने समितिका सचिव नारायण विडारीले जानकारी दिए ।
त्यसैगरी, समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै फसेकाहरुलाई ‘चार्टर्ड फ्लाइट’बाट पठाउने निर्णय पनि गरेको छ ।
सचिव विडारीकाअनुसार जापान जानबाट रोकिएका ६०० र हङकङको ‘आइडी’प्राप्त व्यक्तिहरुलाई स्वास्थ्य परीक्षण तथा अध्यागमन प्रक्रिया पूरा गरी पठाइने छ ।
समितिले शुक्रबार स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञहरुसँग छलफल पनि गरेको छ ।
छलफलमा विज्ञहरुले परीक्षण, ‘कन्ट्रयाक्ट ट्रेसिङ’को दायरा बढाउनुपर्ने, ‘क्वारेन्टाइन’को व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् ।