थपिए २५ जना संक्रमित, संक्रमितको संख्या ४२७ पुग्यो

जेठ ७,काठमाडौं ।
नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार थपिएका २५ जना नयाँ कोरोना संक्रमितमा १८ जना पुरुष र ७ जना महिला छन् ।

बाँकेको नरैनापुरमा ५ र खजुरा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । यस्तै नवपरासीमा १, कपिलवस्तुमा १३ र धनकुटामा ५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यसैगरी बुधबार ८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । कोशी अस्पतालमा उपचाररत उदयपुरका ८ जना पुरुष डिस्चार्ज भएका हुन् । २९ देखि ३३ औं दिनसम्म उपचररत उनीहरु निको भएका हुन् । अहिलेसम्म नेपालमा ४५ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता देवकोटाले बताए ।

बुधबारसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ वटा नमूना परीक्षण गरिएको र आरडिटी विधिबाट ७५ हजार ७२ वटा परीक्षण भएको देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय ८८ र आरडिटी विधिबाट ३ हजार ६ सय १० वटा परीक्षण गरिएको हो ।

मन्त्रालयले स्वेच्छाले पीसीआर परीक्षण गराउन चाहनेका लागि अहिलेसम्म शूल्क निर्धारण नगरिएको पनि उनले प्रष्ट्याए । सरकारी तथा सामुदायिक अस्पतालले तोकिएको दररेटमा परीक्षण गराउन पाउने नीतिगत निर्णय भएपनि शूल्क निर्धारण भैनसकेको प्रवक्ता डा. देवकोटाले बताए ।

यसैगरी डा. देवकोटाले रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको समाचार सत्य नभएको बताए । संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिँदै उनले संवेदनशील घडीमा समाचार प्रकाशन र प्रशारण गर्दा आधिकारिक सूचनालाई आधार मान्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च