बुटवल ।
भारतको नौतनवा क्वारेन्टाइनमा २१ दिन बसेका गरेका नेपालीहरूले स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा प्रदर्शन गरेका छन् ।
बिहीबार राति साढे आठ बजेतिर करिब सय जना नेपालीहरूले स्वदेश जान पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् । नेपालको क्वारेन्टाइनमा बसेका करिब चार सय भारतीयलाई उनीहरूको मुलुक फर्किन दिएको आफूले देखेको भन्दै नेपालीहरूले आफूहरूलाई पनि आफ्नो देश फर्कन पाउनुपर्ने माग गरेका हुन् ।
स्थानीय तहहरूले पर्याप्त क्वारेन्टाइनको व्यवस्थापन गर्न नसक्दा सीमा क्षेत्रमा रोकिएका नेपालीलाई एकैपटक ल्याउन नसकिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । लकडाउनपछि चारपटक पटक गरेर एक हजार पाँच सय बढी नेपालीलाई रुपन्देही भित्र्याएर क्वारेन्टाइनमा राखेको उनले बताए ।
नौतनवामा क्वारेन्टाइन बसाइँ पूरा गरेका अझै एक हजार जना नेपाली स्वदेश फर्कने प्रतीक्षामा छन् । भारतले रेल सेवा सुरु गरेकाले दिनहुँ स्वदेश फर्कने नेपालीहरूको संख्या तराईका जिल्लाका सीमा नाकामा बढेको बढ्यै छ । तर, स्थानीय तहहरूले क्वारेन्टाइनको पर्याप्त व्यवस्था गर्न सकेका छैनन् ।
मुख्य नाकाबाट घर फर्कन नपाएकाकहरू खुला सिमानाको फाइदा उठाउँदै चोरबाटोबाट लुकिछिपी प्रवेश गर्ने गरेका छन् । कतिपय नाकामा अलपत्र नेपालीले पानी पिउन समेत नपाएको गुनासो गरेका छन् भने कतिपय बिरामी पर्न थालेका छन् । सीमामा अलपत्र पर्नेमा बालबालिका र सुत्केरी पनि छन् ।