पाल्पा ।
पाल्पाको रामपुर नगरपालिका वडा १ ले कृषकहरुलाई अनुदानमा गोला सहितको मौरी घार वितरण गरेको छ । कृषकहरुलाई मौरीपालन तर्फ आकर्षिक गर्नका लागि वडा कार्यालयले लकडाउनका बिच टोलटोलमा पुगेर ५० प्रतिशत अनुदानमा मौरी घार वितरण गरेको हो ।
कृषकहरुको माग अनुसार वडा कार्यालयले ४६ जना कृषकहरुलाई ५० घार मौरी वितरण गरेको छ। रामपुर नगरपालिका वडा १ का वडाअध्यक्ष मित्रलाल कंडेल, रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेय, योजना अधिकृत कपिलबहादुर खाँण र कृषि प्राविधिक शुसिल अधिकारी सहितको टोलीले कृषकको घर–घरमा पुगेर घार वितरण गरेको थियो । वडाले ८ हजार रुपैयाँ बराबरको घार पचास प्रतिशत अनुदानमा प्रदान गरेको हो ।
वडा १ का वडा अध्यक्ष कंडेलले मौरी घार तथा कागती खेतीको लागि ४ लाख १० हजार रकम विनियोजन गरिएकोमा कागती खेतीलाई केही रकम छुट्टाएर केहीले मौरीघार वितरण गरिएको बताए । उनले बाँकी रकमले कागतीको विरुवा वितरण गरिने जानकारी दिए ।