काठमाडौं ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय युवाको गुजरातबाट फर्किने बेला बाटैमा मृत्यु भयो। भारतको लखनउ आसपास आइपुग्दा गत जेठ १० गते उनको मृत्यु भएको थियो। लखनउबाट बसमा आउँदा आफूलाई छटपटी भएको बताएका उनलाई छाती दुख्ने र बान्ता हुने भएपछि बसमै मृत्यु भएको थियो। उनको शवलाई कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो।
नेपाल ल्याएपछि उनको स्वाब निकालेर परीक्षण गरियो। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरीएको परीक्षणमा बिहीबार उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भयो। भारतबाट आएको र अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएका उनको स्वाब परिक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको अर्घाखाँची जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले जानकारी दिए।
तर उनको मृत्युलाई कोरोनाका कारण नेपालभित्र मृत्यु भएकाको संख्यामा गन्ने कि नगन्ने भन्ने अन्यौल देखिएको छ। अहिलेसम्म विभिन्न देशमा कोरोनाका कारण नेपालीले ज्यान गुमाएका छन्। उनीहरूलाई उतै मृत्यु भएको गणना गरिन्छ। यी युवकलाई भारतमै कोरोना संक्रमण देखिएको र उतै मृत्यु भएकाले नेपालका मृतकको संख्यामा कसरी गणना गर्ने भन्ने प्रश्न उठेको हो।
अर्कातिर ती युवकलाई कोरोना संक्रमण भएकोबारे भारतीय अधिकारीहरूसँग कुनै रेकर्ड छैन। उनको स्वाब परीक्षण र दाहसंस्कार पनि नेपालमै गरिएको छ।
यस्तो अवस्थामा के गरिन्छ? भनेर हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीलाई सोधेको थियौं।
उनले यसबारे मन्त्रालयले नयाँ निर्णय गर्नुपर्ने बताए।
‘यस्तो अवस्थामा नेपालमा मृत्यु भएको मान्ने कि भारतमा भन्ने मन्त्रालयले निर्णय गर्नुपर्छ। नेपालमै गणना गर्न पनि ठूलो कुरा भएन तर मन्त्रालयले निर्णय नगरी यसै भन्न सकिन्न,’ उनले भने।
शवसँगै आएका दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको डाक्टर गौतमले जानकारी दिए। उनीहरूसँगै अर्घाखाँचीका ८० जनाको समूहमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।
भुमिकास्थान-९ का वडाध्यक्ष नारायणप्रसाद खनालले आज कोरोना संक्रमण पुष्टि भएका युवाको शव भने अन्त्येष्टि गरिसकेको छ।
‘हामीले परिवारसँग सल्लाह गरेर सुरक्षाका मापदण्ड अपनाएर उनको शव चार दिनअघि नै गाडिसकेका थियौं, रिपोर्ट आज आएको हो,’ उनले भने।
अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेमध्ये पाँच जनाको मृत्युपछिमात्र कोरोना संक्रमण पुष्टि भएको हो। सेतोपाटी डट कम बाट