जेठ २०, बुटवल ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई प्रदेश ५ सरकारले एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत स्वरुप दिने निर्णय गरेको हो ।
यस्तै दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताल र नेपालगन्जको खजुरास्थित शुशिल कोइराला क्यान्सर अस्पताललाई दुई वटा शबवाहन खरिद गर्न १५–१५ लाख रुपैयाँ दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको प्रवक्ता बैजनाथ चौधरीले बताए । कोरोना विशेष अस्थायी अस्पताललाई कोरोनाबाट मृतकको शब बोक्नका लागि शबवाहन खरिद गर्न उक्त रकमदिने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए ।
यस्तै कोरोना कोष निर्देशिकामा परिमार्जन गरी कोरोना विशेष अस्पतालमा खटिने प्रहरीलाई खाना खर्च र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीलाई पनि भत्ताको व्यवस्था गरिएको प्रवक्ता चौधरीले बताए ।