जेठ ३०, काठमाण्डौ ।
आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोभिड–१९ का कारण बालबालिकाको अधिकार, उनीहरुको सुरक्षा तथा विकासमा जोखिम उत्पन्न भएको जनाएको छ । साथै सङ्कट व्यवस्थापन तथा पुनःस्थापनाका क्रममा सबैभन्दा जोखिममा रहेकालाई प्राथमिकता दिन विश्व समुदायलाई आह्वान समेत गरेको छ ।
बालश्रम विरुद्धको विश्व दिवस, २०२० को अवसरमा आईएलओले कोभिड–१९ महामारी र यसले निम्ताएको विश्वव्यापी आर्थिक तथा सामाजिक सङ्कटबाट पर्याप्त सामाजिक सुरक्षा प्रणालीको अभावमा गरिबीमा रहेका परिवारसँगै उनीहरुका बालबालिकामा जोखिम बढाएको उल्लेख गरेको हो । सन् २०२५ सम्ममा बालश्रमका सबै स्वरुपको अन्त्य गर्न निर्णायक कदम चाल्नुपर्नेमा आईएलओले जोड दिएको छ ।
कोभिड–१९ फैलनु अगाडिसम्म विश्वभर झण्डै १० करोड बालबालिकालाई श्रमबाट मुक्त गरिएको पनि आईएलओले जनाएको छ । सन् २००० मा बाल श्रमिकको सङ्ख्या २४ करोड ६० लाख रहेकामा सन् २०१६ सम्म बालश्रम १५ करोड २० लाखमा झरेको छ । सात करोड ३० लाख बालबालिका अझै पनि जोखिमपूर्ण श्रममा संलग्न छन् ।
कोरोना सङ्कटले जोखिममा रहेका लाखौँ बालबालिकालाई फेरि बालश्रममा लगाउन सक्ने खतरा रहेको आईएलओले औँल्याएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२१ लाई बालश्रम उन्मूलनका लागि अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको छ ।
सङ्गठनले बालश्रम विरुद्धको लडाईंका लागि विश्वव्यापी, क्षेत्रीय, राष्ट्रिय तथा सामुदायिक स्तरमा बलियो साझेदारीको आवश्यकतामा जोड दिएको छ । सन् २०२५ सम्म सबै प्रकारको बालश्रम अन्त्य गर्ने दीगो विकास लक्ष्यको उद्देश्य ८।७ ले पनि प्रभावकारी समन्वय गरिरहेको आईएलओले जनाएको छ ।
नेपाल लगायतले २१ देश तथा २५० साझेदार संस्थाले आफ्ना कदमलाई अझ तीव्र बनाउने, रचनात्मक समाधान कार्यान्वयन गर्ने, उत्कृष्ट अभ्यास तथा सिकाइबारे ज्ञान आदनप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गलैँचा उद्योग, ढुङ्गा खानीजस्ता क्षेत्रमा बालश्रम कम हुँदै गएको छ भने केही क्षेत्रमा बालश्रम बढेको देखिन्छ । सडक व्यापार, मोटरसाइकल र साइकल मर्मत, सामान ओसारपसार, घरायसी काम, भरिया, सीमामा अवैध सामान ओसारपसार, कपडामा जरी भर्ने लगायत क्षेत्रमा बालश्रम बढिरहेको गुरुयोजनामा उल्लेख छ ।