जेठ ३०,काठमाडौं ।
नवगठित जनता समाजवादी पार्टी, नेपालले सरकारले संसदमा पेश गरेको नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। जसपाका पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले नेपालको संविधानको अनुसूची-३ संशोधन गर्न संसदमा प्रस्तुत गरिएको ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक’को पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय लिएको हो। केही दिनअघिमात्रै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको जसपाले सरकारले ल्याएको संविधान संशोधनको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको नेता केशव झाले जानकारी दिए।
उनका अनुसार बैठकपछि पार्टीले अब संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सदस्यहरुलाई ह्विप जारी गर्नेछ।
भोलि बिहान ११ बजेका लागि संसदीय दलको बैठक पनि बोलाइएको छ । यससँगै भारतले हडपेको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सालाई आधिकारिकता दिने सरकारको प्रस्ताव दुईतिहाइ बहुमतसहित पारित हुने पक्का भएको छ।
यसअघि नै जसपाले संसद बैठकमा संविधान संशोधन विधेयकको पक्षमा उभिने जनाएको थियो। तर औपचारकि निर्णय गरेको थिएन।