दाङ ।
बंगलाचुली गाउँपालिकाको क्वारेन्टिनमा मृत्यु भएका युवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।
जेठ २१ गते संकलन गरिएको स्वाब परिक्षण रिपोर्ट १२ दिनपछि नेगेटिभ आएको र स्वाबको नयाँ नमुना संकलन गरेर जाँच गर्नुपर्ने आवाज उठेको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा संयोजक भक्तबहादुर जिसीले जानकारी दिए।
स्वाब संकलन पश्चात ती व्यक्तिमा कोरोना संक्रमण भएको हुन सक्ने भन्दै पुन स्वाब परिक्षण गर्नुपर्ने माग आएको छ।
‘ढिलोमा ४८ घण्टामा रिपोर्ट आउनु पर्ने थियो। तर १२ दिनपछि रिपोर्ट आयो’, जिसीले भने, ‘पिसिआर रिपोर्ट ढिलो आउँदा क्वारेन्टिनको व्यवस्थापन गर्न गाह्रो भएको छ।’
जेठ ११ गते १८ वर्षका युवालाई भुटनेटा क्वारेन्टिनमा राखिएको थियो। उनमा स्वासप्रस्वास समस्या र बान्ता हुन थालेपछि उपचारको लागि अस्पताल पुर्याइएको थियो।
अस्पतालले भर्ना नलिएपछि बुटवल लैजाने क्रममा शनिबार बिहान १० बजे उनको एम्बुलेन्समा मृत्यु भएको हो। प्युठान माण्डवी गाउँपालिका–४ निवासी ती युवकको शव प्युठान लगिएको छ।
बंगलाचुली गाउँपालिकाको मात्रै ५ सय ५ नमुना प्रतिष्ठानमा थन्किएको छ। शनिबार ३२ जनाको नमुना परिक्षण गरिएकोमा २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।