जेठ ३२, पर्वत ।
कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने छजना बेपत्ता भएका छन्।
पहिरोमा पुरिएर ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र आठ वर्षीया नातिनी बिबिशाको मृत्यु भएको हो। सोही घरका १४ वर्षीय सम्राट थापा, ३० वर्षीया दिर्पा थापा र १७ वर्षीय विवेक थापा बेपत्ता छन्।
यस्तै, बेपत्ता रहेका अन्य तीनजनामा ३२ वर्षीया कमला विक, उनका छोरा १६ वर्षीय जेनिस र छोरी सात वर्षीया प्रमिशा रहेका छन्। पहिरो गएको स्थानमा घरको निसान समेत नरहेका कारण खोजीमा समस्या भएको प्रहरीले बताएको छ।
आइतबार बिहानैबाट उद्धार जारी राख्ने भनिए पनि बिहानैदेखि फेरि पनि वर्षा भइरहेका कारण घरसहित पहिरोमा पुरिएकाहरूलाई खोज्न नसकिएको वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले एक्साभेटरको प्रयोग गरी बिहानैबाट उद्धार गर्ने तयारी भएपनि वर्षाले उद्धारमा थप कठिनाइ ल्याएको जानकारी दिए।
झन्डै २० वर्ष अघि खनिएको गाउँमाथिको मोटर बाटोबाट झरेको पहिरोले एकै ठाउँका तीन घर बगाएको हो। दुईवटा घरको भने निसान समेत नरहने गरी पुरिएको प्रहरीले बताएको छ। चार परिवार विस्थापित भएका छन् ।
जोखिममा रहेका अन्य घरका परिवारका सदस्यहरुलाई राति नै सुरक्षित स्थानमा सारिएको छ। वडाध्यक्ष पाध्याका अनुसार थप पहिरो आउन सक्ने भएकाले पहिरो गएको छेउछाउमा परेका परिवारलाई राति नै नजिकै रहेको होमस्टेमा राखिएको हो। थाहा संवाददाता संजय रेग्मीको सहयोगमा ।