जेठ ३२, गुल्मी ।
गुल्मीमा कोरोना संक्रमित एकजना युवकको मृत्यु भएको छ। रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए।
भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनको जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । तर उनी २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको थियो । ३ पटकसम्म गरिएको स्वाब परीक्षणमा उनको पोजिटिभ रिपोर्ट आएको थियो ।
शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । उनका १४ वर्षका छोरा, ७० वर्षका बुवा र श्रीमती छिन्।
गुल्मीमा यस अगाडि कोरोना संक्रमणकै कारण मदाने गाउँपालिका वडा नं. ६ का ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा ज्यान गएको थियो। यो संगै गुल्मीमा कोरोना स्रक्रमणका कारण ज्यान गुमाउनको सङख्या २ पुगेको छ ।