असार १, काठमाडौं ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको ८३ औं दिनपछि आजदेखि सबै सरकारी कार्यालय खुला हुँदै छन्। लकडाउनले सर्वसाधारण नागरिकको दैनिकी चलाउन समस्या भएपछि स्वास्थ्य सुरक्षा मापदण्डसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह गर्ने गरी सरकारले खुलाउन लागेको हो।
मन्त्रिपरिषद्ले गत साता नै बन्दाबन्दीको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो। सङ्घीय मामिला तथा सामान्य मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी कार्यालय खोल्ने तयारी गरिएको हो। मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले सरकारले बनाएको आवश्यक स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सोमबारदेखि सबै सेवा सुचारू गर्न लागिएको बताए।
आर्थिक वर्ष सकिनै लाग्दा सर्वसाधारण, व्यवसायी, कम्पनी र सङ्घसंस्थाको वार्षिक लेखा तथा कर फछ्र्योट गर्नुपर्ने भएकाले कार्यालयहरू खुलाउनु जरुरी भएको अधिकारीको भनाइ छ। आजदेखि सबै कार्यालय दुई सिफ्टमा सञ्चालन हुनेछन्। पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो चरणमा १ देखि साँझ ६ बजेसम्म कार्यालय खुला गर्न लागिएको हो।
कार्यालयमा कार्यरत कुल कर्मचारीको आधा कर्मचारी पहिलो सिफ्टमा र बाँकी आधा कर्मचारी अर्को सिफ्टमा सेवा प्रवाह गर्ने गरी व्यवस्था गरिएको छ। सर्वसाधारणलाई सहज र छिटो सेवा प्रवाह गर्न सरकारले एकै दिन दुई सिफ्टमा सेवा प्रवाह गर्न लागेको हो । सेवाग्राहीको चाप अनुसार कार्यालयको समय तोकिएभन्दा बढी कायम गर्ने अख्तियारी कार्यालय प्रमुखलाई दिइएको मन्त्रालयले जनाएको छ।