असार २,अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा एक गर्भवतीसहित १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगंगा नगरपालिकामा सात, भूमिकास्थान नगरपालिका र पाणिनि गाउँपालिकामा एकएक, छत्रदेव गाउँपालिकाका दुई, मालारानी गाउँपालिकाका तीन र ठेगाना नखुलेका एक गरी १५ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेश पौडेलले बताए । यो संगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । जसमा २ जनाको मृत्यु भएको छ ।
क्वारेन्टिनबाट भागेका पक्राउ
भूमिकास्थानको क्वारेन्टिनबाट भागेका ३५ जना पक्राउ परेका छन् । भूमिकास्थान –१ र २ ढाकावाङको क्वारेन्टिनबाट भागेकाहरुलाई प्रहरीले आज पक्राउ गरेको हो । गत जेठ २२ गते पिसिआर परीक्षणका लागि पठाइएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनीहरु एकाएक क्वारेन्टिनबाट भागेका थिए । भागेर घर तर्फ जान हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी पुनः क्वारेन्टिनमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए ।