असार ६,गुल्मी ।
गुल्मीमा शनिवार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७४ पुगेको जिल्ला स्वास्थ कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा रेसुङ्गा नगरपालिकाका १८ जना, गुल्मीदरबार गाउँपालिकाका १ जना र छत्रकोट गाउँपालिकाका १ जना रहेका छन् ।
अहिलेसम्म ईस्मा गाउँपालिकाका २१ जना, कालिगण्डकी गाउँपालिकाका १ जना, गुल्मीदरबार गाउँपालिकाका २१ जना, चन्द्रकोट गाउँपालिकाका १८ जना, छ्त्रकोट गाउँपालिकाका २८ जना, धुर्कोट गाउँपालिकाका २२ जना, मदाने गाउँपालिकाका २ जना, मालिका गाउँपालिकाका ४ जना, मुसिकोट नगरपालिकाका ११ जना, रुरुक्षेत्र गाउँपालिकाका ४ जना, रेसुङ्गा नगरपालिकाका ३६ जना, सत्यवती गाउँपालिकाका ६ जना गरि जिल्लामा १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी आचार्यले बताए ।
होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको कोरोना पोजिटिभ
गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड १९) पोजिटिभ आएको छ ।
छत्रकोट गाउँपालिका वडा नम्बर(५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो र उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।
मृतक प्यारालाइसेसको बिरामी थिए । जेठ २५ गते भारतबाट आएर उनी होम क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बस्न नसक्ने भएपछि छोरी ज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टिनमा राखिएको थियो । मृतकको शवलाई शुक्रबार नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
यो संगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङख्या ३ पुगेकोे छ ।