असार ८,पाल्पा ।
पाल्पा जिल्लामा सोमबार ८२ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका ८० जना र माथागढी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ८० जनाको पोजेटिभ आएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए । उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । यो सँगै पूर्वखोल गाउँपालिकामा संक्रमितको संख्या ९२ पुगेको छ ।
गाउँपालिकाले २५ बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण गरेको भएपनि एकै पटक धेरैमा सक्रमण देखिएपछि उनीहरुलाई व्यवस्थापन गर्न समस्या उत्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै माथागढी गाउँपालिकामा पनि २ जना पुरुषमा संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिए । उनीहरु दुई हप्ता अघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । आरडिटी परीक्षण नेगेटिभ आए पनि उनीहरुको पिसियार परिक्षणको लागि स्वाव संकलन गरी प्रादेशिक प्रयोगशाला पठाएकोमा पोजेटिभ देखिएको अध्यक्ष थापाले बताए ।
योसँग माथागढी गाउँपालिकामा संक्रमितको संख्या १७ पुगेको छ । सोमबार थपिएका संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या १ सय ७६ पुगेको छ ।