लकडाउनको अवधिमा प्रदेश पाँचमा २३५ सवारीसाधन दुर्घटना,६४ जनाको मृत्यु

बुटवल ।
लकडाउनको अवधिमा प्रदेश पाँचमा ६४ जनाले दुर्घटनाका कारण ज्यान गुमाएका छन् । देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिनका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो ।

लकडाउन भएको ३ महिनाको अवधिमा प्रदेश पाँचका १२ जिल्लामा २३५ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । उक्त दुर्घटनामा परि ६४ जनाको मृत्यु भएको छ भने ३१२ जना घाइते भएको पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

प्रहरीले उपलब्ध गराएको तथ्यांकमा प्रदेश पाँचमा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुर्घटनामा परी मृत्यु हुनेको संख्या घटेको छ । चालु आर्थिक वर्षको असारको १० गतेसम्म ४५९ जनाको दुर्घटनामा परी मृत्यु भएको छ । अघिल्लो अर्थिक वर्षमा प्रदेश पाँचमा दुर्घटनामा परि सोही अवधिमा ६२३ जनाको मृत्यु भएको थियो ।

ट्राफिक प्रहरीले प्रदेश पाँचमा लकडाउनको अवधिमा ६० लाख १७ हजार ५ सय रुपैंया राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको असार १० गतेसम्म ९ करोड ८४ लाख ७३ हजार रुपैंया राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट गत आर्थिक वर्षमा १४ करोड ४१ लाख ९४ हजार ५ सय रुपैंया र आर्थिक वर्ष ०७४÷७५ मा १९ करोड ३१ लाख ६ हजार ५ सय रुपैंया राजश्व संकलन भएको थियो ।

अघिल्लो वर्षको तुलनामा राजश्व संकलन कमी हुनुमा मुख्य त लकडाउन नै भएको ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।

लकडाउन अवधिमा प्रदेश भित्र ५० हजार ८९९ वटा सवारी साधन भित्रिएका छन् भने ६७ हजार ८२० वटा सवारी साधन प्रदेशबाट बाहिरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च