काठमाडौं ।
बालबालिकाहरुलाई सरकारले पहिलोपटक झाडापखाला विरुद्धको खोप दिने भएको छ । झाडापखालाबाट बर्सेनि बालबालिकाको मृत्यु हुने गरेकाले त्यसलाई रोक्न खोप दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले पाँच वर्षमुनिका बच्चालाई झाडापखालाविरद्धको खोप ‘रोटारिक्स’ दिने भएको हो । नेपालमा बर्सेनि ३ लाख ५० हजारदेखि चार लाख बालबालिकालाई झाडापखाला लाग्ने र तीमध्ये नौ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ ।
बालबालिकामा हुने झाडापखालामध्ये ४० प्रतिशत विरामीमा रोटा भाइरस भेटिने गरेको छ । ६० प्रतिशत अन्य भाइरस, परजीवी, जीवाणुजस्ता कारणले हुने गर्दछ । झाडापखालाविरुद्धको खोप यही असारभित्र शुरु गर्नका लागि सातवटै प्रदेश हुँदै सबै जिल्लामा पठाइसकिएको छ ।
उक्त खोप सरकारका १६ हजार खोप केन्द्रबाट नियमित स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई दिनेछन् । बालबालिकालाई उक्त खोप पहिलोपटक जन्मेको ६ हप्तामा र दोस्रो पटक १० हप्तामा दिईनेछ ।
नेपालमा बाल मृत्युदर कम गर्न जन्मेदेखि एक वर्ष तीन महिनासम्मका बालबालिकालाई १२ प्रकारका खोप निःशुल्क दिइने गरिन्छ ।