पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । शुक्रबार थप ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि पाल्पामा संक्रमितको संख्या थपिएको हो । प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिका र तानसेन नगरपालिकाका एक महिला र ७६ पुरुषमा संक्रमण देखिएको हो । रामपुर नगरपालिकामा ७५ जना र तानसेन नगरपालिकामा २ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड पर्सन श्रीकृष्ण भट्टराईले बताए । रामपुर नगरपालिकामा देखिएका ७५ जना मध्ये १ जना महिला र ७४ जना पुरुष रहेका छन् । उनीहरु मध्ये जनशान्ति माध्यमिक विद्यालय रामपुर ९ मा २२ जना कोरोना पोजेटिभ देखिएको छ ।
क्वारेन्टाईनमा रहेका ३२ जनामा ३१ जनाको रिपोर्ट आउँदा २२ जना पोजेटिभ देखिएको हो । चन्द्रोय माध्यमिक विद्यालय रामपुर १ को क्वारेन्टाइनमा रहेका १३ जना मध्ये ७ जनामा पोजेटिभ देखिएको छ । दरैठाँटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुरमा रहेका ३४ जनाको परीक्षण गर्दा ३२ जनामा पोजेटिभ आएको छ । त्यस्तै गंगा माविमा निर्माण गरिएको क्वारन्टाइनमा रहेका १ जना रहेका छन् । उनीहरु जेठ १६ गते मुम्बाई, इन्दोर, राजस्थान र डिल्लीबाट फर्किएका थिए । यता जनविकास माध्यमिक विद्यालय रामपुर ३ रजघरामा रहेका २७ जना मध्ये १२ जनामा पोजेटिभ देखिएको रामपुर नगरपालिका स्वास्थ्य शाखाका तिर्थ प्रसाद ढुङ्गानाले बताए । यस सगैं रामपुरमा संक्रमितको संख्या ९१ पुगेको छ । गत जेठ २१ गते कोरोना पोजेटिभ देखिएका २ जना भने निको भएर घर फर्किएका छन् ।
त्यस्तै तानसेन नगरपालिकाका दुई जना पुरुषमा संक्रमण देखिएको छ । यी देखिएका संक्रमित तानसेन कुन ठाँउका हुन् भन्ने पत्ता लाग्न भने सकेको छैन । योसँगै तानसेन नगरपालिकामा संक्रमितको संख्या ५ पुगेको छ । विहिबार देखिएका ७७ जना सहित जिल्लामा संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । यस अघि निस्दी गाउँपालिकामा ९५, पूर्वखोला गाउँपालिकामा १४७, रम्भा गाउँपालिकामा २२, तिनाउ गाउँपालिकामा ४, बगनासकालीमा २८, माथागढी २७, रैनादेवी छहरा गाउँपालिकामा २० जना, रिव्दीकोट गाउँपालिकामा ४ जना संक्रमित भएका छन । उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो । १६ जना निको भई घर फर्किसकेका छन् ।