कोरोना त्रास हट्दै, जनजीवन सामान्य बन्दै

असार १३, कपिलवस्तु ।
कोराना त्रासले सुनसान बनेको कपिलवस्तुमा अहिले भने चहलपहल सुरु भएको छ। कोरोना संक्रमित थप हुने घट्दै गएपछि र आइसोलेसन खाली हुन लागेपछि मानिसहरू घरबाट निस्कन सुरु गरेका हुन्।

अहिले कपिलवस्तुका प्रमुख व्यापारिक स्थलमा मानिसहरूको आवत जावत बढेको छ। जनजीवन सामान्य बन्दै गएपछि सदरमुकाम तौलिहवा, जीतपुर, चन्द्रौटा, गोरुसिङ्गे लगायतका मुख्य व्यापारिक स्थलमा मानिसहरूको भिड बढेको हो।

सदरमुकाम तौलिहवाका मुख्य चोकमा प्राय भिडभाड नै हुन्छ। लामो समयदेखि घरभित्र बसेकाहरु लकडाउन खुलेपछि निस्कन सुरु गरेका छन्। बजारका अधिकांश पसल खोलिएका छन्। जिल्लाभित्रका मानिससमेत आउन सुरु भएको छ। बजार गर्न आउने मानिसहरूले मास्क नलगाउँदा तौलिहवामा जोखिमसमेत बढ्न लागेको स्थानीयहरुले बताउन थालेका छन्।

तर यसबारे सरोकारवाला चुप लागेर बसेका कपिलवस्तु व्यापार संघका अध्यक्ष गोपी कृष्ण शर्माले बताए। शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा लकडाउन अगाडीको झल्को दिने गरी चहलपहल भएको छ। हाटबजार र सार्वजनिक बस भने चलेका छैनन्। कृष्णनगर चन्द्रौटा क्षेत्रमा रहेका १ सय बढी उद्योग संचालनमा आएका छन्। दैनिक ३ सय बढी मालबाहक ट्रक चल्न लागेका स्थानीय समाजसेवी महादेव पोखरेलले बताए।

यता वाणगंगा नगरपालिकामा पनि बजार र उद्योगहरू संचालनमा आएका छन्। राजमार्गमा सवारीसाधन गुड्न लागेपछि बुद्धभूमि नगरपालिकाको गोरुसिङ्गे बजारका होटलसमेत संचालनमा आएका छन्। सुनसान बनेको कपिलवस्तुमा भीडभाड बढेको छ।

अहिले यशोधरा गाउँपालिका, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिकाका सबै कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन्। शुद्धोधनमा २ र बुद्धभूमिमा ५ जना संक्रमित आइसोलेसनमा उपचाररत छन्। जिल्लामा अब १ सय ३६ कोरोना संक्रमित आइसोलेसनमा छन्। कुल ७ सय २९ संक्रमितमध्ये ५ सय ९२ डिस्चार्ज भई घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च