आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

असार १७,बुटवल ।
आज हरिशयनी एकादशी हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको विरुवा सारेर हरिशयनी एकादशी मनाउँदैछन्। आषाढ शुक्ल पक्षको एकादशीलाई नै हरिशयनी एकादशी वा देवशयनी एकादशी भनिन्छ। ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ।

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मास पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

यस दिन अघिल्ला बर्षहरुमा बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्ने भएको भएपनि यस बर्ष कोरोना महामारीका कारण यस अघि जस्तो भिड नहुने भएको छ।

एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिकरूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । चतुर्मासभर पूजा गरिने तुलसी बोटविरुवामध्ये अत्यधिक अक्सिजन फ्याँक्ने वनस्पति हो भने यसबाट विविध प्रकारका औषधि उपचार पनि गर्न सकिन्छ। मानव उपयोगी वनस्पति भएकाले यो वनस्पतिलाई भगवान् विष्णु वा उनको प्रिय वस्तुका रूपमा पूजा गरिएको तर्क गर्नेहरू पनि छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च