आज साउनको दोस्रोे सोमबार, पशुपतिनाथको मूल मन्दिर खुलेन


काठमाडौं ।
हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी साउनको दोस्रो सोमबार आज मनाउँदैछन् । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन ।

साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा,पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।

साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको भएपनि यसपटक कोरोना भाइरसको महामारीका कारण अधिकांश शिवालयहरुमा दर्शनार्थीको उपस्थिति न्यून रहेको छ । मन्दिरहरु पनि प्राय बन्द अवस्थामा रहेका छन् ।

हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना हो । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

पशुपतिनाथको मूल मन्दिर नखुल्ने

साउनको दोस्रो सोमबार आज पनि पशुपतिनाथको मूल मन्दिर नखुल्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि लकडाउन लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्था पनि अझैसम्म पनि बन्द छन् ।

अन्य क्षेत्रको लकडाउन खुला गरिए पनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने नै नीति लिएकाले मन्दिर नखोलिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

साउनको पहिलो सोमबार हजारौँ भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए । मूल मन्दिरमा साउन महिनामा पनि दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च