काठमाडौं ।
सरकारले २०७९ सालमा दिने सार्वजनिक विदा टुंगो लगाएको छ ।
आगामी वर्षको विदा टुंगो लगाएर गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेको हो ।
सरकारले शनिबार बाहेक पर्व विदा, जात्रा विदा, महिला कर्मचारीलाई मात्रै दिइने विदा,शिक्षण संस्थाको लागि मात्रै हुने विदा, दशैं,तिहारको विदा, दिवस विदा, जन्म जयन्ती विदा लगायतको सार्वजनिक विदा टुंगो लगाएको हो ।
आगामी वर्षको पात्रो तयार गर्नको लागि सरकारले विदाका दिनहरू टुंगो लगाएको छ ।
जसअनुसार, सरकारले १० प्रकारका पर्व विदा दिने निर्णय गरेको छ ।
जसअनुसार बैशाख १ गते नयाँ वर्ष, किराँत समुदायका लागि उभौली पर्व, रक्षा बन्धन,श्रीकृष्ण जन्माष्टमी, घटस्थापना,छठ पर्व आदिमा विदा दिने भएको छ ।
त्यसैगरी, सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्रै दिइने विदामा गाईजात्रा, गौरा पर्व, मोहम्मद जयन्ती, सिरुवा पावनीको अवसरमा सम्बन्धित पर्व मनाउने समुदायलाई मात्रै विदा दिने भएको छ ।
त्यसैगरी, तीज र जितिया पर्वमा महिलाले मात्रै विदा पाउने छन् । जितिया पर्वमा चाहिँ उक्त पर्व मनाउने महिलाहरुले मात्रै विदा पाउनेछन् ।
त्यसैगरी, बसन्त पञ्चमीमा शिक्षण संस्थाहरुले विदा पाउनेछन् ।
सरकारले गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको फोटो देखाउने जात्रा र घोडेजात्रामा काठमाडौं उपत्यकामा विदा दिने भएको छ ।
दशै विदा असोज १६ गते फूलपातीदेखि २१ गते द्वादशीसम्म हुने भएको छ ।
तिहारको अवसरमा भने कात्तिक ७ गतेदेखि ११ गतेसम्म सरकारी कार्यालय बन्द हुने भएका छन् ।
त्यसैगरी, कात्तिक ९ गते म्हपूजा परेको छ भने कात्तिक १० गते भाइटीका परेको छ ।
सरकारले विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा विदा दिने भएको छ ।
त्यसैगरी, बुद्ध जयन्तीमा देशभर सबैलाई लागूहुने गरी विदा दिने र फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्तीमा सम्बन्धित धर्मालम्बीहरुलाई मात्रै विदा दिइने भएको छ ।