काठमाडौं ।
भारतमा चार महिनापछि पेट्रोल, डिजल र खाना पकाउने ग्याँसको मूल्य वृद्धि भएको छ ।
भारतबाटै नेपालमा इन्धन आयात हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने अनुमान छ ।
भारतका पाँच राज्यमा विधानसभा निर्वाचन सकिएलगत्तै मूल्य वृद्धि गरिएपछि संसददेखि सामाजिक सन्जालसम्म सरकारको विरोध भइरहेको छ ।
राज्य सभा र लोकसभा सदस्यहरुले सोमबारको बैठकमा हंगामा गरेपछि बीचमै बैठक स्थगित गर्नुपरेको थियो ।
रुसबाट छुटमा इन्धन किनेपछि किन मूल्य बढाउनुपर्यो भन्दै सांसदहरुले सरकारलाई प्रश्न गरेका छन् । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले त अब सन् २०२३ मा कांग्रेस सत्तामा फर्किने भविष्यवाणी नै गरेका छन् ।
भारत सरकारले मंगलबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा ८० पैसा प्रतिलिटरको दरले मूल्य बढाएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ बढाइएको छ ।
हरेक १५–१५ दिनमा भारतले पठाएको मूल्य अनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने गरेको छ ।