बुटवल ।
लुम्बिनीको मायादेवी मन्दिर थाइल्याण्डको बुद्धिष्ट संस्था थाइपुङ थाइले मर्मत गर्ने भएको छ ।
वर्षौँदेखि पानी चुहिएर महत्त्वपूर्ण सम्पदा क्षति हुने क्रममा रहेकै समयमा मायादेवी मन्दिर मर्मतको काम सुरु हुन थालेको हो ।
लुम्बिनी विकास कोषका अनुसार भदौबाट मर्मतको काम सुरु हुने भएको छ ।मन्दिर मर्मतका लागि कोषले प्राविधिक सहयोग गर्ने भएको छ ।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले पानी चुहिने भएपछि प्राचीन संरचना मक्किने ढुसी लाग्ने,खिइने,धुलो बन्नेजस्ता समस्या रोक्न मर्मत गर्न थालिएको बताए । उनका अनुसार मर्मत खर्च थाइ संस्थाले नै व्यहोर्ने छ भने पुरातत्व विभागका इन्जियिरहरुले निगरानी गर्नेछन् ।
लुम्बिनी विकास कोषको पुरातत्व महाशाखाका अनुसार मन्दिर चुहिन थालेको पाँच–छ वर्ष भएको छ ।
त्यसअघि पनि पानी चुहिने समस्या भएको तर मर्मतपछि केही समय समस्या समाधान भए पनि फेरि उस्तै भएको महाशाखाले जनाएको छ ।
कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार मन्दिर चुहिन थालेको १८ वर्ष अघिदेखि हो ।यो बीचमा दुई पटक मन्दिरको छतलाई वाटरप्रुफिङ (पानी चुहिन नदिन प्रविधिको प्रयोग गरी मर्मत) गरिएको उनले बताए ।
अहिले मर्मत गर्नका लागि ७ करोड रुपैयाँ जति खर्च आउने अनुमान गरिएको छ ।