काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदैछ । मध्यान्ह १२ बजेका लागि समितिको बैठक बोलाइएको समिति सचिव मनोजकुमार गिरीले नेपाल प्रेसलाई बताए । बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई आमन्त्रण गरिएको छ ।
प्रतिनिधिसभाबाट फास्ट ट्रयाकबाट हुबहु पारित गरेको विधेयकलाई आइतबार बसेको राष्ट्रियसभा बैठकले प्रक्रियागत रूपमा अघि बढाउने सर्वसम्मत निर्णय गरेको थियो ।हिजोको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा पठाउने प्रस्ताव गरेका थिए ।
विधायन समितिमा सत्तारुढ गठबन्धनको बहुमत छ । कांग्रेसबाट ज्येष्ठ सदस्य नारायणदत्त, जितेन्द्रनारायण देव र प्रकाश पन्तसमेत तीनजना छन् । नेकपा माओवादी केन्द्रबाट गंगाकुमारी बेल्वासे, तारामान स्वार, सुरेशकुमार आलेमगर र राधेश्याम पासवान गरी ४ जना छन् ।
नेकपा एमालेबाट देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरवसुन्दर श्रेष्ठ छन् । राष्ट्रपतिबाट मनोनीत सांसद विमला राई पौडयाल एमालेनिकटकै हुन् । यसो गर्दा एमालेको पक्षमा ४ जना पुग्छ ।नेकपा एकीकृत समाजवादीबाट डा। बेदुराम भुसाल र उदयबहादुर बोहरा गरी दुईजना छन् । सांसद खिमलाल देवकोटा पनि नेकपा एसनिकट नै मानिन्छन् । जसपाबाट प्रमिलाकुमारी सदस्य छन् ।
यसरी हेर्दा समितिमा गठबन्धनकै बहुमत देखिएको छ ।