पाल्पा – समाजसेवा तथा वातावरण संरक्षण समूह, अर्घाखाँचीको आयोजनामा पाल्पाका नागरिक समाजसँग प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवा पैरवीका सम्बन्धि अन्तरक्रिया तथा वार्षिक समीक्षा कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।स्वास्थ्य कार्यालय पाल्पाको समन्वय र आइपास नेपालको सहयोग तथा समाजसेवा तथा वातावरण संरक्षण समूह, अर्घाखाँचीको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा समूहका कार्यक्रम अधिकृत आदर्श अधिकारीले संस्थाले पाल्पाको तानसेन, पूर्वखोला र रम्भामा गरेका कामको बारेमा जानकारी दिनुभएको थियो । उहाँले महिलाको प्रजनन् अधिकार र सुरक्षित गर्भपतनको विषय आपसमा अन्तरसम्बन्धित रहेको बताउँदै अबैध रुपमा हुने गर्भपतन न्युनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पाल्पामा संस्थाले गरेका कामको बारेमा समेत जानकारी दिनुभएको थियो ।कार्यक्रममा पाल्पा अस्पतालका निमिक्त मेडिकल सुपरीटेन्डेन्ट डा। रन्जिता झाले पाल्पामा कोहीकसैले पनि असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्यता नरहेको बताउनुभयो । पाल्पाका सूचिकृत संस्थाहरूबाट नै अनिश्छुक गर्भलाई गर्भपतन गराउने सकिने उहाँको भनाई छ।यस्तै नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले अहिले पनि ग्रामीण क्षेत्रमा केही व्यक्तिको मिलेमतोमा वलात्कारका घटनाबाट रहेका गर्भ असुरक्षित रुपमा तुहाउने क्रम रहेको उल्लेख गर्नुभयो । उहाँले जनचेतनाको अभाव र सम्बन्धित व्यक्तिको आर्थिक सामाजिक धारणाका कारण अबैध गर्भपतन गर्ने क्रम रहेको बताउनुभयो ।यस्तै स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा। राजेन्द्र गिरीले जिल्लामा लुकीछिपी सूचिकृत नभएका संस्थामा असुरक्षित गर्भपतन गरेको हुनसक्ने भन्दै यस क्षेत्रमा काम गर्ने संस्थाहरुको पहलमा यस्ता कामलाई न्युनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । गिरीले असुरक्षित गर्भपतनका कारण महिलाको स्वास्थ्य जोखिममा पर्नसक्ने भन्दै गर्भपतनलाई महिलाको अधिकारका रुपमा बुझ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा। गिरीको अध्यक्षता र समाजसेवा तथा वातावरण संरक्षण समूह, अर्घाखाँचीकी कार्यक्रम निर्देशक लक्ष्मी अधिकारीले सञ्चालन गर्नुभएको थियो ।