नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खिलध्वज पन्थी निर्वाचित हुनु भएको छ। रुपन्देहीको लुम्बिनीमा भएको प्रदेशको भेलाले गुल्मीको रेसुंगा नगरपालिकाका प्रमुख पन्थीलाई सर्वसम्मत निर्वाचित गरेको हो ।लुम्बिनी प्रदेशका नगर प्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतहरुको अभिमुखीकरणको अवसरमा भएको नगरपालिका संघको अधिवेशनबाट रेसुंगा नगरपालिकाका प्रमुख पन्थीको नेतृत्वमा १५ सदस्यीय समिति गठन भएको हो । अध्यक्षमा निर्वाचित भएपछि बोल्दै पन्थीले सबै नगरका समस्या साझा हुनेभएकोले आफूले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो । सबै नगरका प्रमुख र उपप्रमुखले जनताको अपेक्षा अनुसार काम गर्न चाहेकोले सबै मिलेर जनताको जीविकोपार्जनलाई माथि उकास्ने कार्यमा एकताबद्ध हुने पनि पन्थीले बताउनु भयो ।लुम्बिनी प्रदेशका ४ उपमहानगर र ३२ नगरपालिका गरि ३६ नगरहरु नगरपालिका संघ अन्तर्गत रहेका छन् । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्ष बन्नुभएका रेसुंगा नगरपालिका गुल्मीका प्रमुख पन्थी नेपाली काँग्रेस गुल्मीका सभापति समेत हुनुहुन्छ ।