दिपक भट्टराई,पाल्पा
चाडपर्व नजिकिँदै गर्दा यात्रुहरुलाई यात्राको क्रममा समस्या नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफीक प्रहरी ब्यवस्थापन कार्यालयले पाल्पा,बुटवल लगाएत लुम्बिनी प्रदेशका १२ जिल्लाका ५० ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
पाल्पाको तानसेनको बसपार्कमा चाडवाड लक्षित यात्रु सहायता कक्षको सुरुवात गरिएको छ । यात्रुलाई सहजताका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । चाडपर्व सुरु भएसंगै हुन सक्ने समस्यालाई मध्यनजर गरी सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्ले बताउनुभयो । यसअघि रामपुरमा सहायता कक्ष स्थापना भएको र अन्य स्थानमा पनि आवश्यकता अनुसार कक्ष स्थापना गरी ट्राफिकले नागरिकलाई सहयोग र सहजिकरण गर्ने पनि प्रमुख मल्लले बताउनुभयो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तले ट्राफिक र प्रहरीले मात्रै सहयोग गरेर यात्रुलाई सहज नहुने हुँदा सवारी धनी चालक र यातायात कम्पनीले पनि पर्वका बेला सहजिकरण गर्नुपर्ने बताउनुभयो । प्रजिअ पन्तले पर्वका बेला हुनसक्ने दुर्घटनाका बारेमा सचेत हुन र सबैले ट्राफिक नियमको पालना गरेमा मात्रै सहज तरिकाले पर्व मनाउने सकिने विषयमा गम्भीर भएर यात्रा गर्न र सवारी चलाउन पर्नेमा जोड दिनुभयो । यस्तै तानसेन नगरपालिकाकी कार्यबहाक प्रमुख प्रतिक्षा सिंजालीले पर्वका बेला यात्रु ठगिने र विभिन्न सास्ती खेप्नु पर्ने अवस्थालाई मध्यनजर गरेर स्थापना गरिएको सहायता कक्षबाट सहयोग लिएर यात्रा गर्न यात्रुलाई आग्रह गर्नुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले चाडपर्वका बेला देखिने समस्या सवारी धनी र चालकहरुबाट मात्रै नभई यात्रुहरुबाट पनि हुने गरेको हुँदा सबैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । खासगरी सवारीमा बढी भाडा लिने, सामग्री हराउने, गन्तवयमा पुग्ने सवारीको ज्ञान नहुने जस्ता समस्यामा परेका यात्रुले सहायता कक्षबाट सेवा लिन पाउनेछन् । यात्रुहरुले सहायता कक्षबाट बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म यात्रुहरुको यात्रा सुरक्षित र सहज बनाउने सवारी साधन नपाएर अलपत्र परेका यात्रुहरुलाई गन्तवय मा पुर्याउन हेल्प डेक्स स्थापना गरिएको हो ।
सवारी साधन नपाएका टिकट लिएरपनि आफ्नो सवारी साधनसम्म जान नसकेका अपाङ्ग,असाहायलाई प्रालिका र्कमचारीले सहयोग गर्ने र सिट भन्दा धेरै यात्रु राखेमा,इजाजत पत्र तोकेभन्दा अन्यत्र जान खोजेमा,ओभरलोड डबल टिकट भएमा ट्राफिक प्रहरीले ब्यवस्थापन गर्नेछ ।
यात्रुहरुको सुरक्षा र सहज यात्रामार्फत गन्तव्यमा पुर्याउन ब्यवसायीहरुको दायित्व रहेको भन्दै यात्रु सहायता कक्ष स्थापनाले धेरै यात्रुहरुलाई सहयोग मिल्नेआशा गरीएको छ ।