काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलहरु ‘बुढो’ भएको टिप्पणी गरेका छन्। ओलीले एमाले विभाजन गरेर गठन भएको माधव नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादीलाई तितेपातीको झारसँग तुलना गर्दै उक्त पार्टी मंसिर ४ गते (आगामी प्रदेश तथा संघ)को निर्वाचनसम्म नटिक्ने दाबी गरे।
पार्टी निकट राष्ट्रिय युवा संघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनको आयु आगामी मंसिर ४ गते सम्मका लागि राख्ने वा नराख्ने भन्ने कुरा आफ्नो पार्टीले लेखिदिनुपर्ने दाबी पनि गरे। गठबन्धनका दलहरु बुढो भएको र उनीहरुको आयु लेखिदिने काम अब एमालेले गर्नुपर्ने ओलीको टिप्पणी थियो। ‘एउटा सल्लाको रुख ५० वर्षसम्म बढ्दै हुन्छ। अर्को तितेपातीको बोट ३ महिनामा बुढा भइवरी मर्छ,’ ओलीले भने, ‘एस (एकीकृत समाजवादी) पार्टी भन्ने छ नि, आजकाल पोहोर भदौमा जन्मियो। अहिले भदौमा बैंस आयो। अर्को भदौ पुग्दैन। एस पार्टी, तितेपातीको झार उस्तै हो।ओलीले आफ्नो पार्टी (एमाले)लाई भने बरपिपलसँग तुलना गरे। बरपिपल सयौं वर्ष टिक्ने भएकाले मान्छेले त्यसको रुखमा चौतारो चिन्ने गरेको उहाहरण दिँदै ओलीले भने, ‘बरपिपलको लागि चौतारो चिन्नु भनेको सयौं वर्ष बाँच्छ भनेर हो। चौतारो चिन्न पाएको छैन, तितेपाती बुढो भएर मरिसक्छ।’
एमाले युवा पार्टी भएको दाबी गर्दै ओलीले सत्ता गठबन्धनका पार्टीहरु आयु अनुसारको बुढा भएको दाबी गरे। ‘गठबन्धनमा भएका पार्टीहरु जतिजति उमेरका भएपनि आयु अनुसारको बुढा हुन्। बुढा पार्टीहरु,’ ओलीले भने,‘एमाले युवाहरुको पार्टी हो। पोहोर बनेको भए पनि कुनै कुनै पार्टी बुढो भइसके।’
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीप्रति व्यंग्य गर्दै ओलीले उक्त पार्टीले गठन हुँदा आक्रामक देखिए पनि अहिले सेलाइ सकेको दाबी गरे। ‘अलिक पोहोर भदौतिर तपाईंहरुले सम्झनु भयो भने यस्तोमा ल्याएर राखिदियो भने यो टाठ भत्किने गरी खोस्रन्थ्यो। यसो भित्तो देख्न हुँदैन थियो, सिंगौंरी खेलिहाल्थ्यो। तर अहिले खोस्रिन छोडिसक्यो। सिंगौंरी खेल्न छोडिसक्यो। लुसुलुसु परेर हिँड्न थालिसकेको छ।’ माधव नेपालको पार्टी मंसिर ४ पछि ‘टोपी निकालेर गालामा हात राखेर बस्ने हालत’मा पुग्ने उनले दाबी गरे।
ओलीले एमालेलाई भ्रष्ट भन्नेहरु आफैं भ्रष्टाचारी भएको आरोप लगाए। उनले सत्तारुढ दलहरुले एमालेमाथि झुटो लाञ्छना लगाउने काम गरेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।