दिपक भट्टराई -पाल्पा
नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न रैनादेवि छहरा गाउँपालिका वडा नं ३ भुवनपोखरीमा नागरिक आरोग्य सेवा क्लिनिक (गाउँघर क्लिनिक) केन्द्र सञ्चालनमा आएको छ । आयुवेर्दिक विधिबाट नागरिकहरूलाई स्वास्थ्य सम्बन्धि सेवा प्रदान गर्नका लागि गाउँपालिकाले गाँउघर क्लिनिक शुरूवात गरेको हो । आरोग्य सेवा क्लिनिकको एक औपचारिक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले आरोग्य सेवा केन्द्रको सेवा आजबाट सुरू हुने र सबैलाई निरोगी र स्वास्थ्य बनाउने उद्देश्यका साथ नागरिक आरोग्य सेवा (गाउँघर क्लिनिक) सेवा सुरू भएको बताउदै नमुना नागरिक आरोग्य सेवा केन्द्र बनाउन समेत आफूहरु पहल गर्ने बताउनुभयो । गाउँपालिकाले स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई मध्ये नजर गरि नीति तथा कार्यक्रम निर्माण गरेको बताउदै आगामी दिनमा पालिकाले पालिकाका अन्य वडाहरूमा आरोग्य सेवा क्लिनिकको स्थापनालाई निरन्तरता दिने अध्यक्ष भट्टराईको भनाई छ,उहाँले रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत आयुर्वेद औषधि फाईदाजनक रहेको बताउदै नागरिक आरोग्य सेवा केन्द्रको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।
हराउँदै गएको आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउन समेत केन्द्रको महत्वपूर्ण भूमिका रहने बताउदै कार्यक्रमका विशिष्ट अतिथि तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले गाउँपालिकाले भुवनपोखरीमा नागरिक आरोग्य सेवा क्लिनिक शुरूवात गरिएकोले आगामी दिनमा सेवा लिन नागरिकहरू बाहिर जानू नपर्ने बताउनुभयो । स्वास्थ्य नै सबै भन्दा ठुलो धन रहेकोले नागरिकहरूको स्वास्थ्य उपचारमा ध्यान दिन स्वास्थ्यकर्मीहरूलाई आर्गह गर्नु भयो ।
परापूर्वकालदेखि आयुर्वेद चिकित्सा अपनाउँदै आएको भए पनि पछिल्लो समय यो चिकित्सा पद्धति ओझेलमा परेको भन्दै छहरा आयुर्वेद औषधालयका प्रमुख पङ्कज रायमाझीले हरेक महिनाको ७ र २२ गते यस क्लिनिकबाट सेवा तथा निसशुल्क औषधि पनि प्रदान गरिने बताउनुभयो ।
नागरिक आरोग्य सेवा (गाउँघर क्लिनिक) केन्द्रबाट आयुर्वेद सेवा,औषधि वितरण सेवा, ज्येष्ठ नागरिक आरोग्य सेवा, योग, जीवनशैलीलगायत विषयमा निःशुल्क सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमका अध्यक्ष प्रदीप पौडेलले आयुर्वेदलाई धेरैले उपचार पद्धतिका रुपमा स्वीकार गर्न अन्कनाइरहेका अवस्थामा एलोपेथिक उपचारपछि ठीक नभएका कतिपय बिरामी आयुर्वेदमा पुगेपछि निको हुने गरेको बताउनुभयो । पछिल्लो समय धेरै मानिसले आयुर्वेदको महत्व बुझेका र आयुर्वेद चिकित्सा पद्धतिलाई हाम्रो जीवनसँग जोड्दै लैजानसके दीर्घ रोगबाट छुट्कारा पाउन सकिने जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानियहरु ३ नं वडाका पदाधिकारि तथा कर्मचारिहरुको उपस्थिति रहेको थियो। ३ नं वडाध्यक्ष प्रदीप पौडेल को अध्यक्षता वडा सदस्य धन बहादुर रायमाझीको स्वागत मन्तब्य तथा कार्यालय सहायक गिरिराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको सुचना प्रविधि अधिकृत नारायण मल्लले जानकारी दिनुभयो ।