काठमाडौं, १० असौज । कांग्रेसको समानुपातिकतर्फको बन्दसूची हेरेपछि डा।शेखर कोइराला समूहबाट निर्वाचित सहमहामन्त्री बद्री पाण्डेले केही मुख्य नेतासँग भने, ‘यो बिजोगमा भाग लिनुभन्दा यो चुनाव हापौं । गठबन्धनबाट बाँकी रहेको सीट शेरबहादुर दाइलाई नै पुग्दैन । यसपटक हामी चुनाव नलड्ने र रुखमा भोट हालेर बस्ने भनेर वक्तव्य जारी गरौं ।’
निर्वाचन आयोगमा असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले सार्वजनिक मञ्चबाटै विरोध जनाएको छ । पार्टीको १४ औं महाधिवेशनमा प्राप्त ४० प्रतिशत मतको हैसियतअनुसारको हिस्सा समानुपातिक र प्रत्यक्ष दुवैतर्फ नपाए विद्रोह गर्ने चेतावनी यो समूहका नेताहरूले सार्वजनिक रूपमै राखेका छन् ।
गठबन्धनका सहयात्री दलका नेताहरूलाई समेत खबरदारी गर्दै उनीहरूले पार्टीमा आन्तरिक सन्तुलन भत्किए विद्रोह हुने र देशैभर गठबन्धनका उम्मेदवारलाई असहयोग हुने चेतावनी दिएका छन् ।समानुपातिक बन्दसूची शेखर र गगनको सहमतिमा पेश गरिएको खबरले नै सो समूहमा विद्रोह भइसकेको थियो । शेखर र गगनको क्षेत्रमा एक एकजना समानुपातिक उम्मेदवार पारेर सो समूहमै विभाजन ल्याउन खोजेको चर्चा पनि चलेको छ ।
‘शेखर–गगन समूहको भेला र आन्तरिक छलफलले गठबन्धन बैठकमा खैलाबैला मच्चिएको छ, शेरबहादुरजीले यसलाई दबाब दिने रणनीतिका रूपमा बुझेजस्तो लाग्छ तर कतिपय नेताले खेलाँची गर्दागर्दै विद्रोह हुन सक्ने र त्यसले गठबन्धनलाई नै धक्का लाग्न सक्ने भन्दै समयमै सचेत हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ,’ बालुवाटार बैठकमा सहभागी गठबन्धन दलका एक नेताले भने, ‘माओवादी, एकीकृत समाजवादी र जसपा नेताहरू कांग्रेसप्रति ढुक्क बन्न सकिरहेका छैनन् ।’
विराटनगर पुगेका नेता शेखर कोइरालाले उम्मेदवार चयनप्रतिको असन्तुष्टि सञ्चारकर्मीमाझ राखेका छन् । उनले सभापति देउवाले नबोलाएसम्म काठमाडौं नफर्कनेसमेत बताएका छन् ।
माओवादी उपमहासचिव हरिबोल गजुरेलले कांग्रेसभित्रको विवादले गठबन्धनमा असर पर्ने बताए । चुनावी गठबन्धनमा जार्नैपर्ने बाध्यताबारे बुझाएर पार्टीभित्रका विवादको समाधान खोज्ने काम नेतृत्वबाट हुनुपर्ने उनले बताए । ‘विवाद जुनसुकै दलमा हुँदा पनि गठबन्धनलाई असर गर्छ, माओवादीलाई एमालेसँग गठबन्धन गर्दा लाभ हुन्थ्यो, धेरै सिट पाउन सकिन्थ्यो तर प्रतिगमनको खतरा अझै पनि उत्तिकै रहेकाले हामीले यो गठबन्धनलाई अघि बढाउन खोजेका हौं,’ उनले भने, ‘कांग्रेसभित्रका विवादको समाधान खोज्ने काम नेतृत्वको हो ।
‘सार्वजनिक रूपमै कुराहरू आएपछि छलफल हुनु स्वाभाविक हो तर यसैलाई लिएर गठबन्धन के हुन्छ भन्ने कुरा होइन, कांग्रेसभित्रको विवाद गठबन्धनको विरोधमा होइन, पाएको सिटमा सम्मानजनक हैसियत हुनुपर्छ भन्नेमा होला,’ उनले भने, ‘त्यो पार्टीको आन्तरिक विषय हो । नेतृत्वले मिलाउने विषय हो । गठबन्धनको विरोधमा शेखरजीहरू पनि हुनुहुन्न ।’
गठबन्धनभित्र प्रतिनिधिसभाका करिब २५र३० सिटमा अझै दोहोरोरतेहरो दाबी छ । अहिले गठबन्धन बैठक त्यसलाई छाडेर प्रदेशसभाको सिट मिलाउन केन्द्रित छन् । समानुपातिकतर्फको सूचीमा एकपक्षीय गरिएको र प्रत्यक्षतर्फ समेत पार्टीभित्रका प्रतिस्पर्धी समूहका नेता उम्मेदवार बन्ने अधिकांश क्षेत्र अन्य दललाई दिने र आफ्ना समूहका नेताहरू उम्मेदवार हुने क्षेत्र मात्रै लिने देउवाको रणनीति बुझेरै कार्यदलका सदस्यसमेत रहेका महामन्त्री गगन थापा बैठकमा जान छाडेका छन् ।
‘महामन्त्री बैठकमा नजानु नै पार्टीभित्र एकपक्षीय रूपमा अघि बढ्न खोजेको सन्देश हो, पार्टीभित्र एकता खोज्न अझै समय छ, समय छँदै मिलाउन सकिएन भने भोलि विद्रोह हुन सक्छ, त्यो कुन हदमा हुन्छ भनेर अहिल्यै भन्न सकिन्न,’ शेखरपक्षीय नेता हृदयराम थानीले भने, ‘प्रधानमन्त्रीले शक्तिको आडमा पेलेरै जान्छु भने पनि आमकांग्रेस पंक्तिमा पुरानो संस्थापनकै बाहुल्यता छ ।
सभापति देउवाले समानुपातिक सूचीमा मात्र होइन, प्रत्यक्ष निर्वाचन क्षेत्रमा पनि टिकट दिन आनाकानी गरेको भन्दै शेखर पक्ष आक्रोशित भएको छ ।
देउवाका विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँणले शेखर–गगनको असन्तुष्टिप्रति संकेत गर्दै उम्मेदवार हुने आकांक्षा राख्नेले त्याग पनि गर्न सक्नुपर्ने बताउँदै आएका छन् । तर, उनै खाँणले यस पटक आफू प्रत्यक्षमा चुनाव लड्ने तयारी गरेको र श्रीमती मञ्जु खाँणलाई समानुपातिक सूचीमा राखेको भन्दै शेखरपक्षीय नेताहरूले तीव्र आलोचना गरेका छन् । गत स्थानीय तह निर्वाचनमा खाँणले भाइ रामकृष्ण खाँणलाई तिलोत्तमा नगरपालिकाको प्रमुख समेत बनाएका थिए ।
समानुपातिक सूचीमा प्रधानमन्त्री देउवापत्नी आरजु राणा, तत्कालीन लेखा समितिका अध्यक्ष भरत शाहकी पत्नी अनिता ढुंगाना शाह, वाग्मती प्रदेश सरकारका उद्योगमन्त्री मिलनबाबु श्रेष्ठकी श्रीमती अञ्जनी श्रेष्ठ, प्रधानमन्त्रीका प्रेसविज्ञ गोविन्द परियारलगायत अटाएका छन् । ठगी आरोपमा मुद्दा चलाइएका मेडिकल कलेज व्यवसायी खुमा अर्यालसमेत कांग्रेसको बन्दसूचीमा छन् ।
शेखर गगन समूह देउवालाई दबाब दिन गुरु घिमिरेले भनेजस्तो विद्रोहको चरणमा प्रवेश गर्यो भने त्यहाँ महाधिवेशनमा उनीहरुलाई भोट दिएकाहरुमात्र हुने छैनन् । गठबन्धनका कारण सीट खोसिने अवस्थामा देउवा समूहकै धेरै नेता(कार्यकर्ता त्यहाँ पुग्नेछन् । एमाले शेखर समूहले संस्थागत विद्रोह गरेमा चुनावी तालमेल गर्न तयार नै देखिन्छ ।
समूहका नेता कोइरालाले सीट बाँडफाँटमा कांग्रेसलाई १०० सीटभन्दा तल खुम्च्याउन खोजे गठबन्धनको मर्म नजोगिने बताउँदै आएका छन् । कांग्रेसले १०० सीट नपाए बहुमत नआउने र ८०र८२ सीटका लागि गठबन्धन नै नचाहिने उनले बताउँदै आएका छन् ।
कांग्रेसलाई १०० सीटभन्दा तल राखे पार्टीभित्रका आकांक्षीको व्यवस्थापन गर्न गाह्रो पर्ने र त्यसो भए गठबन्धन दललाई पनि असर पर्ने बताउँदै आएका थिए ।