पाल्पा । बगनासकाली गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । सरकारले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण नीति बनाएपछि यहाँका नागरिकहरुले नेपाल बैंक लिमिटेडमा खाता खोली सोही बैंक मार्फत भत्ता लिदै आएका थिए ।सबै वडाहरुको पहुचमा बैंक नरहेको र आउन जान समेत समस्या भएको भन्ने गुनासो बढेपछि पालिकाले जिल्लामै पहिलो पटक यसप्रकारको सहज बातावरण बनाएको हो ।
गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले सामाजिक सुरक्षा भत्ता लिनकै लागि बैंकमा आउन जान समस्या भएको पालिका बासी नागरिकहरुको गुनासो सम्बोधन गर्दै वडाबाट भत्ता बितरण गर्न लागिएको बताउनुभयो ।
वडामै बैंकका प्रतिनिधिहरु पुगेर बैकिङ प्रक्रियाबाटै भत्ता बितरण गरिनेछ । यसका लागि पालिकाले सबै समन्वय मिलाएको अध्यक्ष चिदीले बताउनुभयो । भत्ता बितरणसँगै सोही स्थानमै जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति, एकल महिला लगायत सामाजिक सुरक्षा भत्ता लिने ब्यक्तिहरुको लागि लक्षित गरि स्वास्थ्य शिविर पनि संचालन गरिने उहाँले बताउनुभयो ।
पालिका उपाध्यक्ष हरिप्रसाद पाठकले निर्वाचनको समयमा र अन्य समयमा पनि जनताको घरदैलोमा जाने क्रममा सामाजिक सुरक्षा लाभग्राहीहरुको गुनासो र सुझावको आधारमा वडाबाटै भत्तत्रा बितरण गर्न लागिएको बताउनुभयो ।
पालिकाले ९ वटै वडाका लागि भत्ता वितरण गरिने मिति र स्थान सहितको सूचना प्रकाशन गरेको छ । भत्ता लिन आउने नागरिकले नागरिकताको सक्कल प्रमाणपत्र, लाभग्राहीको चेक बुक, लाभग्राही परिचयपत्र तथा पूर्ण अशक्तहरुको हकमा वडा कार्यालयको सिफारिस अनिवार्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु धर्तीले बताउनुभयो ।