‘हाम्राे तानसेन’ बुलेटिन सार्वजनिक

पाल्पा – तानसेन नगरपालिकाद्वारा प्रकाशित ‘हाम्रो तानसेन’ बुलेटिन एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रमका बीच वर्ष ५, अंक १ सार्वजनिक गरिएको हो । उक्त अंक नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र उपप्रमुख प्रतीक्षा सिंजालीले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा लेखक तथा तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्करराज रेग्मीले उक्त अंकमा भएका गतिबिधि तथा प्रकाशित सामग्रीको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले नगरपालिकाले प्रकाशन गरेको पत्रिका मुख पत्र, समाचारपत्र वा अन्य कुन हो त्यसको निक्र्यौल गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, पत्रकार महासंघ पाल्पाका पूर्व सभापति झपेन्द्र गहिरे, लेखक तथा बुद्धिजीवि निर्मल श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारी पाल्पाका सचिव नारायण न्यौपाने लगायतले निरन्तर प्रकाशनको शुभकामना दिनुभएको थियो । उहाँहरुले पत्रिकाले विषय र क्षेत्र अनुसारको सामग्रीलाई महत्व दिएर लेख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले आगामी दिनमा हाम्रो तानसेन पत्रिकालाई समयसापेक्ष परिमार्जन गर्दै लैजाने बताउनुभयो । कार्यक्रम नगर प्रमुख श्रेष्ठको अध्यक्षता तथा उपप्रमुख सिंजालीको स्वागत तथा नगरपालिकाका प्रेस सल्लाहकार मुक्तिप्रसाद न्यौपानको संचालनमा सम्पन्न भएको थियो ।
नगर कार्यपालिकाको निर्णय सार्वजनिक
यसैबीच तानसेन नगरपालिकाले नगरपालिकाको कार्यपालिका बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै नगर प्रवक्ता यादवसिंह कार्कीले नगरपालिकाको कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।
उहाँले भदौँ पछि बसेका कार्यपालिकाको दुई वटा बैठकले नगर प्रमुख सहितको मलेसिया भ्रमणको स्वीकृति गरेको, तानसेनको बसपार्क निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको, अस्थायी कर्मचारीहरुको १५ प्रतिशत भत्ता बृद्धि गरेको बताउनुभयो ।
यस्तै तानसेनको श्रीनगरको विकासका लागि आवश्यक बजेट विनियोजन गरेको, शैक्षिक संस्थामा हुने विदालाई एकरुपता ल्याउन समिति बनाएको, तानसेन रिङ्रोड निर्माण गर्न २४ करोडको बजेट माग गरेको, अवैधानिक संरचनालाई एक पटकका लागि वैध बनाउने निर्णय गरेको नगर प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च