पाल्पा । पाल्पाली युवा सुमन गैरेको दिनचर्या आजकल भने फेरिएको छ । पत्रकारिता र कलाकारिताबाट आफ्नो परिचय बनाउनुभएका गैरेको अहिलेको परिचय फेरिएको छ । आगामी मङसिर ४ मा हुने निर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट पाल्पा–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको हो ।
बगनासकाली–७ खानीगाउँमा जन्मनुभएका गैरे, प्रतिनिधिसभा तर्फ पाल्पा क्षेत्र नंं. २ मा प्रत्यक्षतर्फको उमेदवार भई अहिले मत माग्न मतदाताको घरदैलोमा व्यस्त हुनुहुन्छ । “मैले कलाकारिता र पत्रकारिताबाट पनि राम्रोसँग आफ्नो जीवन गुजार्न सक्थे होला तर धेरै पटक भोट पाएर जितेर गएकाहरुले पनि केही गर्न नसकेको देखेपछि अव युवाहरुले केही गर्नुपर्छ भन्ने मनसाय बोकेर राजनीतिमा होमिएको हुँ ।” उहाँले भन्नुभयो ।
२०६७ सालबाट न्यूज पाल्पा, रेडियो मुक्तिनाथ, न्यूज २४, सूर्योदय टेलिभिजन लगायतका संचार माध्यमहरुबाट पत्रकारिता गर्नुभएका गैरे २०६९ बाट कलाकारितामा समेत क्रियाशील हुनुहुन्छ । उहाँले गाउनुभएका लोकदोहोरी गीतहरु अहिले पनि चर्चामा छन् । गैरे जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशील युवाको रुपमा रहनुभएको छ ।
“मेरो राजनीतिक पृष्ठभूमि खासै छैन्, नेपाली कांग्रेस निकट प्रेस युनियनमा आवद्ध थिए, पछिल्लो समयको विकृत राजनीतिक सोंच र व्यवहारले मलाई नै उम्मेद्वार बनायो ।” उहाँले भन्नुभयो । लोक दोहोरी प्रतिष्ठान, अन्तराष्ट्रिय साहित्य समाज, लायन्स क्लव, दारी ग्याङ
जस्ता सामाजिक संघसंस्थामा जोडिनुभएका गैरे केही महिनाअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध हुनुभएको थियो । पूर्व पत्रकार तथा सञ्चारकर्मी रवि लामिछाने केन्द्रीय अध्यक्ष रहनुभएको सो पार्टीबाट उहा“ पाल्पा क्षेत्र नं. २ को प्रतक्षतर्फको उमेदवार बन्नुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गैरे जस्तै देशैभरबाट युवाहरुलाई उम्मेदवार बनाएको छ । “आफ्नो क्षेत्र र देशको विकासको लागि युवाहरू राजनीतिमा आउन जरुरी छ, हामीहरू भोट हाल्ने र विदेश जाने मात्र होइनौ, देश विकासको मेरुदण्ड पनि हौं ।” उहाँले भन्नुभयो ।
अहिले गैरे बिहानदेखि साझसम्म मतदाताको घरदैलोमा पुग्न व्यस्त हुनुहुन्छ । पाल्पामा भर्खरमात्र गठन भएको यो पार्टीले संगठन बिस्तार गर्दै लगेको छ । घरघर जान्छौं, हाम्रो चुनावी योजना, यो क्षेत्रको विकासको खाका जनतालाई सुनाउने गरेका छौं । गैरेले भन्नुभयो ।