सुदूरपश्चिममा रावलले विश्वासको मत पाएनन्, ठूलो दल काँग्रेसले सरकार बनाउने

बुटवल । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त हुने भएका छन् । पुस २७ गते एमालेसहित ३ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत नपाएपछि सुदूरपश्चिम अब ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि मुख्यमन्त्री रावल १ महिनामै बिदा भएका हुन् । संविधानको धारा १६८ (२) अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशको ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । सुदुरपश्चिममा १९ सीट रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो । अब कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । उनले पनि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेको व्यक्तिले पनि विश्वासको मत नपाए १६८ (५) अनुसार संसदको कुनै पनि सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भए मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्नेछन् । तर, यसरी नियुक्त मुख्यमन्त्रीले पनि विश्वासको मत पाउन नसके मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले ६ महिनाभित्र अर्को प्रदेशसभा निर्वाचन हुनेगरी मिति तोक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १९, नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १÷१ सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च