तानसेनको बाघखोरमा रहेको १० वर्षदेखि अलपत्र ‘काेल्ड स्टाेर’ पुन: निर्माण गरिदैँ

पाल्पा – तानसेनको बाघखोरमा दश वर्षदेखि अलपत्र शीत भण्डार (कोल्ड स्टोर) पुन निर्माण सुरु भएको छ । तानसेन नगरपालिका र भारत सरकारको सहयोगमा निर्माण सुरु भएको कोल्ड स्टोर अलपत्र भएको एक दशकपछि पुन निर्माण सुरु भएको हो ।

तानसेन नगरभित्र उत्पादन हुने कृषिजन्य बस्तु भण्डारण गर्न दश वर्षअघि २०६९ साल फागुन २३ गतेदेखि ठेक्का सम्झौतापछि निर्माण सुरु भएको थियो । यद्यपी शीत भण्डार निर्माण नसकिँदै निर्माणको काम एक दशक अलपत्र बनेको थियो । हालै भारत सरकारबाट शीत भण्डार निर्माणको काम पूरा गर्न बजेट दिने आश्वासनपछि पुन उक्त संरचनालाई निर्माण गर्न थालिएको हो ।

शीत भण्डार निर्माण सकिएर पुनर्निर्माण गर्नुपर्ने बेलामा फेरी निर्माणको काम सुरु गरिएको तानसेन–७ का वडा अध्यक्ष प्रदीप खनालले बताउनुभयो । सुरुमा कछुवा गतिमा निर्माण भएको शीत भण्डारको रकम भुक्तानी नभएपछि निर्माण व्यवसायीले निर्माण रोकेर काम अलपत्र पारेका थिए । अहिले भारत सरकारका प्रतिनिधिले स्थलगत अवलोकन गरेपछि शीत भण्डार निर्माणको काम अगाडि बढेको वडाअध्यक्ष खनालले जानकारी दिनुभयो ।

दश वर्षअघि दुई वर्षभित्र सम्पन्न गर्ने गरी चार करोड ९९ लाख ९१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो । त्यसमा तानसेन नगरपालिकाको ५५ लाख ४७ हजार ४६९ रुपियाँ लगानी गरेको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । हालै भारत सरकारका प्रतिनिधिसँगको छलफलपछि शीत भण्डार निर्माणको काम पुन सुरु गरिएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

उहाँका अनुसार शीत भण्डारको हालसम्म २७ प्रतिशत काम सम्पन्न भएको छ । यसअघि तानसेन नगरपालिकाले ठेकेदारले समयमै काम नगरेको भन्दै निर्माण व्यवसायीलाई कालोसूचिमा राखेर धरौटी रकम समेत जफत गरेको थियो । तर नयाँ जनप्रतिनिधि आएपछि भने शीत भण्डारलाई पुन निर्माण गर्ने गरी कारबाही फुकुवा गरेको नगरपालिकाले जनाएको छ । ठेकेदारले पुरानै दररेटमा काम गर्ने प्रतिबद्धता गरेकाले कारबाही फुकुवा परेर शीत भण्डार निर्माणको काम अगाडि बढाएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो ।नगरपालिकाले हालसम्म व्यवसायीलाई दुई करोड १६ लाख रुपियाँ भुक्तानी दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च