तानसेन । आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजय भएको दिनका रुपमा आज नेपालीले चैते दसैं पर्व मनाउँदैछन् ।
असोज–कात्तिकमा बडादसैं र चैतमा चैते दसैं मनाउने प्रचलन छ । चैते दसैंका अवसरमा घरघरमा तथा देवी मन्दिरहरुमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ ।
चैते दसैंका दिन काठमाण्डुको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । बडादसैंका जस्तो चैते दसैंमा भने मान्यजनबाट टीका र जमरा लगाउने चलन छैन ।