बैशाख २८, गुल्मी ।
मालिका गाउँपालिका गुल्मीले पाल्किाभित्रका ८ बटै वडाहरुमा विपन्न परिवारलाई लक्षित गरी काममा आधारित राहात कार्यक्रम संचालन गरेको छ । कार्यक्रम अन्र्तगत ८ वटै वडाका दुई हजार सात सय ३५ विपन्न परिवारका सदस्यहरुले काम पाएका छन्।
१०÷१० जनाको समूहमा सबै जनालाई परिचालन गरेर काम भइरहेको मालिका गाउँपालिकाले जनाएको छ। यसरी भैरहेको कामलाई पालीकाले निर्माण गरेको सर्वदलीय संयन्त्र मार्फत कामको मूल्यांकन गरिने बताईएको छ ।
गाउँपालिकाले पहिलो चरणमा राहत वितरण गरेका अतिविपन्न ६ सय ९० र विपन्न दुई हजार ४५ गरेर दुई हजार सात सय ३५ परिवारलाई ‘एक घर एक काम’ को व्यवस्था गरेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए। एक परिवारले तीन दिन काम गर्नुपर्ने मापदण्ड गाउँपालिकाले बनाएको छ। काम गरेबापत ३० किलो चामल, तीन किलो दाल, एक लिटर तेल र एक किलो नुन प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए।
तीन दिन काम गरे प्रधानमन्त्री रोजगार कार्यक्रमकै मापदण्डअनुसार खाद्यान्न वितरण गरिने गाउँपालिकाले जनाएको छ। काम नै गर्नुपर्ने भएपछि गैरविपन्नहरुले राहतको आशा नगर्ने र पैसाको सट्टा खाद्यान्न दिएपछि परिवारमा सबैले खान पाउने भण्डारीले बताए।
राहतको विषयमा गैरविपन्नले जनप्रतिनिधिलाई दबाब दिएकाले काम गरेपछि मात्रै राहत दिने निर्णय गर्न बाध्य हुनुपरेको गाउँपालिका अध्यक्ष रितबहादुर थापाले बताए। लकडाउन बढ्दै जाँदा विपन्नहरुको रोजीरोटी संकटमा परेको र राहत वितरणमा गाउँपालिकालाई पनि आर्थिक व्यवस्थापनको चुनौती बढेको अध्यक्ष थापाले बताए।
यसले सडक, पोखरी, तथा घोडेटा बाटो मर्मत हुने र विपन्नहरुको गुजरा पनि चल्ने उनले बताए। ज्येष्ठ नागरिक र अपांगहरुको हकमा भने काम गर्नुपर्ने बाध्यता नरहेको उनले प्रस्ट पारे।