बैशाख ३०, बुटवल ।
प्रदेश ५ मा आज भेटिएका १७ जना कोरोना संक्रमित भारतबाटै आएको खुलेको छ । आज रुपन्देहीका ९ र कपिलवस्तुका ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कपिलवस्तुका ८ जना नै यशोधरा गाउँपालिकाका रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए । पोजेटिभ देखिएका लुकिछिपी नेपाल प्रवेश गरी क्वारेन्टाइनमा बसेका थिए ।
रुपन्देहीमा भेटिएका ९ जना लुम्बिनी सांस्कृतिक नगरपालिका र सम्मरीमाई गाउँपालिकाका रहेको निर्देशनालयले जनाएको छ । उनीहरु पनि भारतबाटै लुकेर आइ क्वारेन्टाइनमा बसेका थिए ।
प्रदेशमा आज थपिएका १७ सहित संक्रमितको संख्या ७० पुगेको छ । तीमध्ये ४७ जना लुकिछिपी नेपाल प्रवेश गरेका हुन् । पछिल्लो तीन दिनमा कपिलवस्तु र रुपन्देहीमा करिव १५ सय नागरिक नेपाल छिरेको बताइएको छ ।
तीमध्ये अहिलेसम्म करिव साढे तीन सय जनाको कोरोना परीक्षण भएको छ । कतिपय नागरिक कता छन भन्ने समेत पत्तो छैन ।