कावासोती ।
नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम ढिलाइ भएको भन्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् ।
गैँडाकोट– ११ र १२ को सिमाना हर्कपुरमा एक घण्टा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् ।
नारायणगढ–बुटवल सडकखण्ड निर्माणाधीन अवस्थामा छ । सडक निर्माणको ठेक्का पाएको कम्पनीले समयमा काम नसक्दा यात्रुले सास्ती बेहोर्नुपरेको छ । विरोधस्वरूप एक घण्टा सवारी आवागमन ठप्प पारेका स्थानीयले ‘नेताहरू हेलिकोप्टरमा सरर, जनतालाई धुलो फरर’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
ठेकेदार कम्पनीले समयमा काम नसक्दा धुलो र हिलोले आजित भएको भन्दै साङ्केतिक रूपमा एक घण्टा चक्काजाम गरेको स्थानीयले बताएका छन् । सडकको निर्माण कम्पनीसहित अन्य सरोकारवाला निकायसँग छलफलका लागि मुकुन्दपुरका स्थानीयले १३ सदस्यीय वार्ता टोलीसमेत गठन गरेका छन् ।
विभिन्न निकायसँग समन्वयका लागि गठन भएको वार्ता टोलीले सडक निर्माण कम्पनीका प्रतिनिधिसँग सशस्त्र बेसक्याम्पमा छलफल गर्ने वार्ता समितिका सदस्य लकुश धितालले जानकारी दिनुभयो ।
त्यस्तै चार लेन विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकको काम आउँदो दशैँलगत्तै फेरि सुरु हुने भएको छ ।आयोजनाको पहिलो ठेक्का सम्झौता अवधि सकिएपछि पुनः एक वर्ष म्याद थप गरिएको छ ।
तर म्याद थप भए पनि असोजपछि मात्रै निर्माण कम्पनीले काम गर्ने मनसाय बनाएको नारायणगढ–बुटवल सडक विस्तार आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताउनुभयो ।